काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तीन महिना कैद माग गर्दै संसद सचिवालयमा उजुरी परेको छ । प्रचण्डले संसदको रोस्टमबाट संसदलाई ढाँटेर संसदप्रति अवहेलना गरेकाले ३ महिना कैद हुनुपर्ने माग गर्दै अधिवक्ता स्वागत नेपालले यस्तो उजुरी दर्ता गराएका हुन्।
प्रधानमन्त्री प्रचण्डले सांसदहरुसँगको प्रश्नउत्तर कार्यक्रममा जवाफ दिँदा टिकापुर घटना छानबिन गर्न गठन भएको गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नेबारे गलत जवाफ दिएको उजुरीमा दाबी गरिएको छ ।
सांसदहरु शिशिर खनाल र गंगाराम चौधरीले सोधेको प्रश्नमा प्रधानमन्त्री दाहालले सर्वोच्च अदालतको आदेशका कारण टीकापुर लगायत तराई-मधेसमा भएका घटनाको विषयमा छानबिन गर्न गठन भएको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न नसकिएको दाबी गरेका थिए ।
प्रधानमन्त्रीको सो दाबी सही नभएको भन्दै नेपालले उजुरी दिएका हुन्। प्रधानमन्त्रीले जान्दा जान्दै संसदलाई ढाँटेको भन्दै संविधानको धारा १०३ अनुसार सजाय हुनुपर्ने जिकिर उजुरीमा गरिएको छ ।