काठमाडौं। प्रतिनिधिसभामा माओवादी र एमालेका सांसदबीच जनयुद्धको बिषयलाई लिएर सवालजवाफ चलेको छ । नेकपा एमालेका सचिव योगेश भट्टराईले सरकारको नीति तथा कार्यक्रमको पहिलो बुँदामै रहेको जनयुद्ध शब्द स्वीकार गरेको हो भनेर नेपाली कांग्रेसलाई प्रश्न गरे।
नीति तथा कार्यक्रममाथि संसदमा भएको छलफलमा भाग लिँदै एमाले सांसद भट्टराईले ०७२ सालपछि पहिलो पटक सरकारी दस्तावेजमा जनयुद्ध शब्द परेको बताए।
सोभियत युनियन ढलेको र समाजवादी राज्य व्यवस्थामाथि ठूलो संकट आएको बेला अमेरिकी लेखक फ्रान्सिस फुकुयामाले समाजवादी विचारको अन्त्य भयो भन्ने सन्दर्भमा ‘इण्ड अफ दि हिस्टी’ लेखेको चर्चा गर्दै उनले एक नम्बर बुँदा स्वीकार गरे कांग्रेसको इतिहासकै अन्त्य हुने दाबी गरे।
भट्टराईले अघि भने, ‘यसमा माननीय शेरबहादुर देउवाजीबाटै जवाफ पाए हुन्थ्यो भन्ने लाग्छ । उहाँ पार्टी सभापति हुनुहुन्छ, गठबन्धनको सबभन्दा ठूलो नेता हुनुहुन्छ, उहाँको नीति विना यो नीति कार्यक्रम कसरी बन्यो होला ?’
लगत्तै नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले जवाफ फर्काए। पौडेलले भट्टराईलाई शब्दकोश पल्टाएर हेर्न आग्रह गर्दै भट्टराईलाई बृहत शान्ति सम्झौता बिर्सनुभयो भन्दै प्रश्न समेत गरे।
‘माननीयजीलाई एक पटक डिक्सनरी पल्टाएर हेर्न अनुरोध गर्दछु, त्यो माछा युद्ध थियो, भालु युद्ध थियो ? जंगलका अर्नाहरु लडेका थिए ? कि रुख, ढुंगाहरु लडेका थिए ?’ पौडेलले भट्टराईलाई भने, ‘माननीय डिक्सनरीजी पल्टाएर हेर्नुहोला, मानिसले लडेको युद्धलाई कि जनआन्दोलन भनिन्छ कि जनयुद्ध भनिन्छ । मानिसका छोराहरु लडेका युद्ध थियो ।’
नेपाली जनतालाई सार्वभौम बनाउन र संविधानसभाबाट संविधान बनाउन जनयुद्ध लडिएको भन्दै पौडेलले जनयुद्धकै कारण एकात्मक राजतन्त्र अन्त्य भएर संघीय गणतन्त्र प्राप्त भएको बताए।