बुधवार, आश्विन २१ गते २०८३

धनगढीमा पूर्वराजाः नक्कली शरणार्थी प्रकरणले देशको ईज्जत गयो

सोमवार , जेठ ८, २०८०

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालीलाई शरणार्थी बनाउँदा देशको इज्जत गएको टिप्पणी गरेका छन् । अमेरिका पठाउने भन्दै नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएको प्रसंग उल्लेख गर्दै उनले यस्तो गतिविधिले देशको इज्जत र गौरव लोप भएको बताएका हुन् ।

धनगढीमा नागरिक अभिनन्दन समारोहमा पूर्वराजा शाहले देशभित्रै बसौं भन्ने भावना हराउँदै गएको हो भन्दै प्रश्न गरे।

‘नेपाली जनतालाई पुर्खा र राष्ट्रिय अस्तित्व हुँदाहुँदै शरणार्थी बनाएर हाम्रो इज्जत, गौरव सबै लोप भएर गएको छ’, शाहले भने, ‘देशभित्र बसौँ, पसिना बगाऔँ, आफ्नो पौरखले देश बनाऔँ भन्ने भावना हराउदै गएको छ । के नयाँ भनेको यही हो ? नेपालको आफ्नो अस्तित्व छैन ?’

नेपालीहरूको श्रम र सीप खोसिँदै गएको उल्लेख गर्दै पूर्वराजा शाहले विकास र प्रविधिको युग भएको र आफ्नै श्रम र साधनले मुलुकको उन्नति सम्भव हुने टिप्पणी गरे। 

पूर्वराजाले वर्तमान राजनैतिक परिपाटीले देशको हित नहुने सङ्केत गरे।

‘सोझासाझा जनतालाई झुक्याउने काम भइरहेको छ । आफ्नै प्रपञ्च खुल्दै गइरहेका छन् । अहिलेको युग विकास र प्रविधिको युग भएकाले आफ्नै स्वतन्त्र संस्थाद्धारा युगान्तकारी परिवर्तन चाहान्छौं’, शाहले भने, ‘सोच्ने बेला आएको छ, कस्तो राष्ट्रिय दृष्टिकोण, परिपाटी अंगाल्ने ? देश भन्दा ठूलो केही हुँदैन । सोचौं दिलैदेखि सोचौँ, गम्भीर भएर सोचौँ ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार