बुधवार, आश्विन २१ गते २०८३

हिरासतबाटै खाँणलाई टेकनारायणले भने: पैसा फिर्ता गरेर प्रधानमन्त्रीलाई भनेर अनुसन्धान रोक्नुस्

बुधवार , जेठ १०, २०८०

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले आफू पक्राउ परेपछि प्रधानमन्त्रीलाई भनेर अनुसन्धान रोक्न दबाब दिनुपर्ने भन्दै पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई लिखित सूचना पठाएको पाइएको छ ।

यो प्रकरणको अनुसन्धानका क्रममा प्रहरीले तत्कालीन गृहसचिव पाण्डेलाई २० वैशाखमा पक्राउ गरेको थियो । खाँण भने २७ वैशाखमा पक्राउ परेका थिए । सरकारी वकिल कार्यालयले अदालतमा पेश गरेको अभियोगपत्रअनुसार पूर्वगृहमन्त्री खाँण पक्राउ पर्नुअघि नै तत्कालीन गृहसचिव पाण्डेले हिरासतबाटै पठाएको लिखित सूचना खाँणको साथबाट प्रहरीले बरामद गरेको थियो ।

उक्त सूचनामा खाँणलाई जोगाउन प्रधानमन्त्रीलाई भनेर अनुसन्धान प्रक्रिया अगाडि नबढाउन दबाब दिनुपर्ने, केशवप्रसाद दुलाल र सानु भण्डारीले दिएको रकम फिर्ता गरी इन्कारी बयान गराउन आग्रह गरिएको थियो ।

अनुसन्धानका क्रममा प्रहरीले लिखित सूचनाको परीक्षण गरेको थियो, जुन पाण्डेकै हस्तलिखित भएको खुलेको अभियोगपत्रमा उल्लेख छ ।

खाँणले पूर्वसभासद आङटावा शेर्पालाई प्रहरी हिरासतमा रहेका सानु र केशवलाई भेट्न पठाएर रकम फिर्ता गर्ने भन्दै बयानमा आफूलाई नपोल्न भनेका थिए । सानु र केशव सहमत भएपछि शेर्पाले ३० लाख रुपैयाँ सानुका दाजु राजु भण्डारीलाई भरपाई गरिदिएको घटना विवरण कागज र भरपाई कागजबाट खुलेको अभियोगपत्रमा उल्लेख छ ।

प्रहरीको दाबी अनुसार खाँणले केशव र सानुबाट १ करोड २४ लाख रुपैयाँ नगद बुझेका थिए । साथै नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने आपराधिक समूहमै खाँण संलग्न भएको पुष्टि भएको अभियोगपत्रमा उल्लेख छ ।

खाँणले तत्कालीन गृहसचिव पाण्डे, केशव दुलाल, नरेन्द्र केसी र आङटावा शेर्पालाई परिचालन गरेर संगठित ठगी, सरकारी लिखत किर्ते एवं राष्ट्रहित प्रतिकूल काम गरेको अभियोगपत्रमा उल्लेख छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार