आइतवार, श्रावण २४ गते २०८३

चलचित्र ‘टुल्की’का लागि टिकट बुकिङ खुल्ला, शुक्रबारदेखि देशभर प्रर्दशनमा

बिहिवार , जेठ ११, २०८०

चलचित्र ‘टुल्की’का लागि टिकट बुकिङ खुला गरिएको छ। बहुपति प्रथामा आधारित रहेको चलचित्र निर्माण गरेको ‘द पाल्म गुप्र प्रालि’ले बुधबार पत्रकार सम्मेलन गरी चलचित्र ‘टुल्की’ शुक्रबारदेखि देशभर प्रदर्शन हुन लागेको उक्त चलचित्रको टिकट बुकिङ खुला भएको जनाएको हो।

पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका निर्माता शेखर लामाले नेपालको हिमाली क्षेत्रमा चली आएको बहुपति प्रथालाई चलचित्रमार्फत देखाइएको जानकारी दिए । “चलचित्र टुल्कीमा डोल्पा, हुम्ला, मुगुलगायतका हिमाली जिल्लामा रहेको बहुपति प्रथालाई देखाइएको छ,”- उनले भने ।

चलचित्र डोल्पा जिल्लाको शे-फोक्सुन्डो, त्रिपुराकोट, रल्ली, करेलीकाँडालगायतका विकट गाउँबस्तीमा पुगेर छायाङ्कन गरिएको निर्माता लामाले बताए । पत्रकार सम्मेलनमा चलचित्र निर्देशक देवजङ्ग थापाले चलचित्रमा डोल्पाको तल्लो क्षेत्रमा पर्ने एक फरक समुदायमा हुर्केकी केटी प्रेम विवाह गरी उपल्लो क्षेत्रमा जाने र र त्यहाँ गइसकेपछि उनले प्रथाका नाममा भोग्नुपरेको कथावस्तुलाई उजागर गरिएको बताए ।

चलचित्र निर्देशन देवजङ्ग थापा तथा छायाङ्कन सुशील अधिकारी र नवराज घिमिरेले गरेका छन् ।

शेखर लामाको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा आरपी कर्माचार्य र उजेली लामा निर्माताको भूमिकामा छन् । चलचित्रको कथा लक्ष्मण सुनारले लेख्नुभएको हो भने चलचित्रमा सम्पादन तारा थापा, पाश्र्व सङ्गीत सञ्जीव सुब्बा, कोरियोग्राफी लिगेश भट्टराई र रमेश बुढाथोकीले गरेका छन् ।

चलचित्रमा शिशिर वाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपानेलगायत कलाकारको अभिनय रहेको छ ।

बुधबारको पत्रकार सम्मेलनमा चलचित्र पत्रकार सङ्घका अध्यक्ष समीर बलामी, वरिष्ठ कलाकार कृष्ण मल्ल, जनसवाल राष्ट्रिय दैनिकका अध्यक्ष एवम् सम्पादक रामजी बगाले, फेसियल हाउसकी सञ्चालक सुष्मा महरा,सामाजिक कार्यकर्ता सन्तोष कोइराला,बिकास गुरुङलगायतले चलचित्र सफलताको शुभकामना दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार