काठमाडौं। नेकपा एमालेनिकट राष्ट्रिय युवा संघले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले नेताहरूमाथि प्रतिशोध साँध्न खोजेको आरोप आरोप लगाएको छ ।
सो प्रकरणको सत्यतथ्य छानबिन गर्न माग गर्दै युवा संघको केन्द्रीय कमिटीले बुझाएको ज्ञापनपत्रका एमाले नेता र अख्तियारका प्रमुख आयुक्तमाथि प्रतिशोध साँध्न खोजेको उल्लेख छ ।
अनुसन्धानको क्रममा घटनाको प्रारम्भ प्रतिवेदन परिवर्तन गर्ने क्रममा संलग्न र मानव तस्करीमा संलग्न व्यक्तिहरूभन्दा पनि राजनीतिक उद्देश्यले अनुसन्धानलाई तोडमोड गर्ने गराउने कार्य भएको कुरा अभियोग पत्र अध्ययन गर्दा स्पष्ट भएको गृहमन्त्रीलाई बुझाइएको पत्रमा उल्लेख छ ।
अनुसन्धानको प्रत्येक विवरण मिडियामार्फत् सार्वजनिक गर्ने कार्यबाट र व्यक्तिगत तथा राजनीतिक स्वार्थका आधारमा अनुसन्धानलाई प्रभावित गर्ने कार्य भएको युवा संघले जनाएको छ ।
यस्तै मन्त्री श्रेष्ठले कमिसन र भ्रष्टाचारको जालो नतोड्दासम्म समृद्धिको यात्रा तय गर्न नसक्ने बताए। युवा संघको टोलीको ध्यानाकर्षपत्र बुझ्दै श्रेष्ठले राजनीतिक परिवर्तनपछि पनि भ्रष्टाचारकै कारणले समृद्धिको दिशामा फड्को मार्न नसकेको बताए।
उनले नक्कली शरणार्थी प्रकणमा प्रहरीले बयानमात्रै नभई तथ्य प्रमाणको आधारमा अगाडि बढाइरहेको बताए। मन्त्री शर्माले एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवाले पनि निष्पक्ष रूपमा काम गर्न आफूलाई सहयोग गर्ने बचन दिइरहेको पनि बताए।