आइतवार, कार्तिक ९ गते २०८३

बलात्कार घटना मिलाउन खोज्ने वडासदस्यसहित ७ जना पक्राउ

आइतवार , श्रावण १०, २०७८

काठमाडौं । बलात्कार घटनामा मिलापत्र गर्न जनप्रतिनिधि नै लागेको घटना बाहिर आएको छ । यसअघी पनि यस्ता घटना नभएका होइनन् । रुकुममा यस्तै बलात्कार घटना मेलमिलाप गरेको आरोपमा रोल्पामा वडासदस्यसहित सात जना पक्राउ परेका छन् ।

जेठाजुबाट बुहारी बलात्कार भएको घटनालाई गाउँमै मिलापत्र गरेको आरोपमा प्रहरीले लुङ्ग्री गाउँपालिका–४ का  वडा सदस्य हिमबहादुर विष्टसहित अन्य ६ जनालाई प्रहरीले पक्राउ गरेको हो । 

पीडितको उजुरीको आधारमा बलात्कारको आरोपीसहित मिलापत्र गराउने स्थानीय दुर्गे विष्ट, नवीन विष्ट, पुस्त विष्ट, पुस्ते खड्का र पीडितका ससुरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख एवं डीएसपी नरेशराज सुवेदीले जानकारी दिए ।

गएको साउन २ गते भएको घटनालाई पीडितका ससुराले वडा सदस्यलाई खबर गरेपछि वडा सदस्यले साउन ३ गते गाउँमा कटुवालमार्फत स्थानीय भद्र भलाद्मी बोलाएर २० हजारमा मिलापत्र गराएका थिए। जसमध्ये गाउँको कोषमा १५ हजार र पीडितलाई ५ हजार छुट्याउने भेलाले निर्णय गरेको थियो ।  

पीडितलाई छुट्याइएको ५ हजार रुपैयाँबाट पनि १ हजार भलाद्मीलाई चिया खर्च र ५ सय ससुरालाई मान राख्ने भनेपछि पीडितले असन्तुष्टि जनाउँदै साउन ४ गते प्रहरीमा जाहेरी दिएपछि घटना बाहिर आएको हो ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार