काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्मला पन्तको घटनाका दोषीलाई चाँडोभन्दा चाँडो पत्ता लगाएर कारबाही गर्न निर्देशन दिएका छन् । निर्मला पन्तको हत्या भएको आज ३ वर्ष पुगेको छ ।
बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १४ वर्षीया बालिका निर्मलाको हत्या भएको तीन वर्ष पुगेकै दिन प्रधानमन्त्री देउवाले गृह मन्त्री बालकृष्ण खाँड र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बोलाएर यस्तो निर्देशन दिएका हुन् ।
देउवाले सामाजिक संजालमा लेख्दै निर्मला पन्तको हत्या भएको तीन वर्ष पुगेको दिन आज आफुले गृह मन्त्री र प्रहरी प्रमुखलाई बोलाएर अहिलेसम्म भएको अनुसन्धानबारे जानकारी लिएको जानकारी गराएका छन् ।
तीन वर्ष अघि साउन १० मा बेपत्ता भएकी निर्मलाको साउन ११ गते बलात्कार पछि हत्या गरेको अवस्थामा शव उखुबारीमा भेटिएको थियो ।