काठमाडौं । बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा करीब दुई अर्ब बराबरको क्षति भएको अनुमान गरिएको छ । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रामकुमार श्रेष्ठका अनुसार प्रारम्भिक रुपमा गरिएको अनुमानअनुसार एक अर्ब ८८ करोडको क्षति भएको देखिएको हो ।
आयोजनाले चिनियाँ ठेकदार कम्पनी सिनो हाइड्रोले हालसालै बनाइसकेको स्थायी बाँधमा सामान्य मात्रै क्षति पुगेको अनुमानमा आधारित भएर क्षतिको पूर्वानुमान गरेको हो । बाढीबाट सुरुङ जोगिए पनि आयोजनाको बाँधसहितका बाहिरी संरचना ढुंगा, गिट्टी, बालुवा र माटोले पुरिएका छन् ।
बनेका संरचनामाथि नै खोला बगिरहेकाले नदी नियन्त्रणको काम पनि प्रभावकारी ढंगले गर्नुपर्ने अवस्था आएको छ ।
आयोजनाको क्याम्प बनाउने लगायतका काम गर्ने तयारी भइरहेको छ । श्रेष्ठका अनुसार हेलम्बु गाउँपालिकासँगको सहकार्यमा बाँधस्थलसम्म जाने सडक निर्माणको लागि प्रयास भइरहे पनि सफल भएको छैन ।
आयोजना स्थलमा टोली पुग्ने र फर्किने गरिरहे पनि जोखिम हुनसक्ने भएकाले सहज अवस्था नबनेको जनाइएको छ ।