सोमवार, श्रावण २५ गते २०८३

पायल्स कसरी हुन्छ ? उपचार विधी यस्तो छ । 

सोमवार , श्रावण ११, २०७८

काठमाडौं । पछिल्लो समय निस्क्रिय जिवनशैली र असन्तुलित र अस्वस्थकर खानपानले गर्दा सानै उमेरदेखी मानिसहरुलाई पायल्स हुने समस्याले सताउने गरेको छ । पायल्स भैसकेपछि पनि उचित उपचार तथा खानपान नमिल्दा यसले निकै दुख दिने गरेकोछ ।

पायल्स यस्तो समस्या पनि हो, जसलाई उचित ख्याल गरिए पूर्णत निको पार्न सकिन्छ । तर, बेवास्ता गरिए वा लापरबाही गरिए, पायल्सले जीवनभर दुख दिन्छ । पायल्स मलद्वारमा हुने समस्या हो । जब मलद्वारमा दबाव पर्छ, यो समस्या आउन सक्छ । पायल्स भएपछि दिसा गर्न गाह्रो हुने, मलद्वारबाट रगत बग्ने, मलद्वारमा घाउ हुने, मासु पलाउने जस्ता समस्या हुन्छ । 

जब मलद्वारमा समस्या हुन्छ, खानपानलाई त्यसले प्रभावित बनाउँछ । खानपान प्रभावित भएपछि स्वास्थ्यमा असर गर्छ । यसले शारीरक मात्र होइन, मानसिक रुपले पनि हामीलाई रोगी बनाउँदै लान्छ ।

खानपान र जीवनशैलीको कारण यो समस्या हुन्छ । चिल्लो, मसलेदार खानेकुरा, जो सजिलै पच्दैन यस्ता खानेकुरा पायल्सको कारण बन्न सक्छ । पानीको सेवन कम गर्नु, फाइबरयुक्त सागपात सेवन नगर्नु, फलफूल सेवन नगर्नु, शारीरिक रुपमा निस्क्रिय बस्नु, तारेको भुटेको खानेकुरामा जोड दिनु, मासुमंसमा लिप्त हुनु पायल्स निम्त्याउने कारण हुन् ।

खानपान र जीवनशैलीको कारण कब्जियत हुन्छ । कब्जियत भएपछि दिसा गर्न गाह्रो हुन्छ । दिसा गर्न गाह्रो भएपछि मलद्वारमा अनावश्यक दवाब पुग्दा यसले घाउँ बनाउँछ र पायल्सको समस्या हुन्छ । 

कसरी निको पार्ने ? 
पायल्सबाट बच्ने उपाय भनेको स्वस्थ्य जीवनशैली अपनाउनु नै हो । यसका लागि स्वस्थ्य खानपान र आफुलाई सक्रिय राख्नुपर्छ ।
१. नियमित रुपमा दिसा गर्ने । दिसा त्यागको लागि निश्चित समय बनाउने ।
२. दिसा गर्दा बल नगर्ने, हतार नगर्ने ।
३. सुपाच्य खानेकुरा सेवन गर्ने ।
४. पर्याप्त पानी वा झोलयुक्त खानेकुरा खाने ।
५. फाइबरयुक्त खानेकुरा, साग, फलफूल सेवन गर्ने ।
६. पिरो, मसालेदार, चिल्लो, तारेको, भुटेको खानेकुरा नखाने ।
७. मदिराजन्य खानेकुरा, मासुजन्य खानेकुरा सेवन नगर्ने ।
८. चिन्ता नलिने । पर्याप्त निन्द्रा लिने ।

पायल्स हुनुअघि नै यसतर्फ सावधानी अपनाइयो भने दुख पाइदैन । यद्यपी पायल्सको समस्या भइसकेको अवस्थामा भने अन्य प्राकृतिक तथा घरेलु उपचारबाटपनि निको पार्न सकिन्छ ।

१. एउटा भाँडामा तातो पानी राख्ने र मलद्वारलाई डुबाएर राख्ने ।
२. दिसा गरेपछि भिजाएको ट्वाइलटे पेपर प्रयोग गर्नुपर्छ ।
३. मलद्वारलाई सफा राख्नुपर्छ । प्रतिदिन नुहाउनुपर्छ । मनतातो पानीले मलद्वार सफा गर्नुपर्छ ।
४. एलोपेथिक उपचार प्रभावकारी हुन्छ । यद्यपी केहि आर्युवेदिक औषधीले दिर्घकालिन रुपमा यस समस्याबाट छुटकारा दिन्छ ।

सामान्यत पायल्स हानिररहित हुन्छ । र, यसको उपचार पनि सहज हुन्छ । तर, लामो समयसम्म यो अवस्था रहेमा समस्या जटिल बन्छ । दिसा गर्नै गाह्रो हुने, दुख्ने, रगत आउने समस्या भएमा चिकित्सककहाँ जानुपर्छ ।

पुरानो पायल्स लामो समयमा रहेमा रक्त श्रावको कारण कतिलाई एनीमिया हुनसक्छ । पायल्स जटिल अवस्थामा पुगिसकेको छ भने शल्यक्रियाको विकल्प अपनाउन सकिन्छ । यो उपचार सुरक्षित र प्रभावकारी हुन्छ । यसमा केहि विधी छन् ।

१. रबर ब्यान्ड लिगेशन- यसका लागि स-सना रबर ब्यान्ड प्रयोग गरिन्छ । यो पायल्सको जडमा लगाइन्छ । एक हप्तामा पायल्स सुक्छ ।

२. स्क्लेरोथेरेपी इन्जेक्सन- यस विधीमा एक केमिकल इन्जेक्सन लगाइन्छ । यसले पायल्स सुकाउँदै लान्छ । यसले दुखाई र सुन्निएको कम हुन्छ ।

३. कोआगुलेशन-  यस प्रविधिमा लेजर वा इन्फ्रा रेड लाइट वा बाई पोलर हिट ट्रिटमेन्ट प्रयोग गरिन्छ ।
तर यो अवस्था सम्म पुग्नुभन्दा समस्याको सुरुवाती चरणमै यसलाई वेवास्ता नगरी खानपान र व्यायाम तथा आफुलाई सक्रिय राख्यौँ भने यसबाट छुटकारा पाउन सकिन्छ ।  

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार