सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत सिजनको अन्तिम लिग खेलमा थ्री स्टार क्लब विजयी भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार थ्री स्टारले जावलाखेल युथ क्लबलाई १-० गोल अन्तरले हराएको हो ।
थ्री स्टारको जितमा कप्तान बिक्रम लामाले निणर्ायक गोल गरे । बिक्रमले खेलको ८३ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए । बिक्रमको यो करियरको अन्तिम खेल समेत हो ।
यस जितसँगै थ्री स्टार रेलिगेसनबाट जोगिएको छ । थ्री स्टारले २६ खेलमा ३२ अंक जोडेको छ । थ्री स्टार नवौं स्थानमा उक्लिएको छ ।
थ्री स्टारको जितले विभागीय टोली एपीएफ क्लब भने रेलिगेसनमा परेको छ । २०६२ सालबाट ’ए’ लिग खेलिरहेको एपीएफ १८ वर्ष लामो यात्रामा पहिलो पटक बी डिभिजन लिगमा घटुवा भएको हो ।
एपीएफ २६ खेलमा ३० अंक जोडेर १३ औं स्थानमा रह्यो । रेलिगेसनमा पर्ने अर्को टोलीमा खुमलटार क्लब रह्यो । जावलाखेलले हारबाट सिजनको अन्त्य गरेको छ । जावलाखेलले २६ खेलमा ३७ अंक जोड्यो । जावलाखेलले चौंथो स्थानमा रहेर सिजनको अन्त्य गरेको छ ।
लिगको उपाधि चर्च ब्वाइज युनाइटेडले जितिसकेको छ । चर्च ब्वाइजले 'बी' डिभिजनबाट बढुवा भएको पहिलो वर्ष नै 'ए' डिभिजन लिगको उपाधि उचाल्न सफल भएको हो ।