आइतवार, कार्तिक ९ गते २०८३

इजरायलका लागी कामदार माग, तत्काल १ हजार लगिने, तलव १ लाख ९० हजार

मंगलवार , श्रावण १२, २०७८

काठमाडौँ । वैदेशिक रोजगार विभागले इजरायलको दीर्घकालीन स्याहार सेवा केन्द्रमा सहयोगीको रुपमा काम गर्न इच्छुक नेपाली कामदारलाई आवेदन माग गरेको छ ।  

मन्त्रिपरिषद्को बैठकले इजरायलमा नेपाली कामदार पठाउनेसम्बन्धी निर्देशिकालाई पारित गरेपछि विभागले कामदार पठाउने प्रक्रिया सुरु गरेको हो । २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेका महिला र पुरुषले आवेदन दिन पाउने विभागले जनाएको छ । 

कमाइ र कार्यस्थलको हिसाबले इजरायल दक्षिण कोरियाभन्दा पनि आकर्षक गन्तव्य हो । इजरायल जाने कामदारको न्यूनतम तलब १६ सय डलर (झन्डै एक लाख ९० हजार रुपैयाँ) छ । लागत शुल्क भने एक लाख ६५ हजार रुपैयाँ लाग्ने छ । छानिएको कामदारले ५ वर्षसम्म काम गर्न पाउनेछन् ।

इच्छुक उम्मेदवारले विभागको वेबसाइटमार्फत आवेदन दिन पाउनेछ । सरकारी संयन्त्रमार्फत इजरायलले पहिलो चरणमा एक हजार जना नेपाली लैजाने भएको छ । जसमा ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष जान पाउने छन् । 
निजी क्षेत्रमा संलग्नतामा कामदार भर्ना गर्दा कामदारमाथि ठूलो आर्थिक शोषण भएको भन्दै नेपाल र इजरायलबीच गत ३० सेप्टेम्बरमा सरकारी संयन्त्रमार्फत नै भर्ना गर्ने गरी श्रम सम्झौता भएको थियो । इजरायलको भर्ना प्रक्रियामा निजी क्षेत्र (म्यानपावर कम्पनी)को संलग्नता छैन ।

कामदार छनोट र भर्ना प्रक्रियामा नेपालको तर्फबाट वैदेशिक रोजगार विभाग र इजरायलको तर्फबाट पपुलेसन एण्ड इमिग्रेसन अथोरीटी (पीआईबीए)को संलग्नता रहनेछ । विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीका अनुसार विभागभित्रै इजरायल हेर्ने छुट्टै संयन्त्रमार्फत काम भइरहेको छ । 

उनले अब जाने कामदारले रोजगारदाताको घरभित्रै रहने गरी नभई स्याहार केन्द्रमा काम गर्नुपर्ने बताए । यसअघि रोजगारदाताकै घरमै बसी काम गर्ने गरी कामदारलाई लैजाने गरिएको थियो ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार