आइतवार, श्रावण २४ गते २०८३

नेपालमा ‘आदिपुरुष’काे प्रदर्शन राेकियाे, ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवाद हटाउनुपर्ने

बिहिवार , जेठ ३२, २०८०

काठमाडाैं। नेपालमा दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’को प्रर्दशन रोकिएको छ। फिल्ममा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवादमा आपत्ति जनाउँदै नेपाली सेन्सर बोर्डले फिल्मलाई जाँचपासको प्रमाणपत्र दिन अस्वीकार गरेको हो।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिलकुमार दत्तको नेतृत्वमा बिहीबार अपरान्ह फिल्मको सेन्सर कार्य भएको थियो ।

उक्त संवाद नहटाएसम्म फिल्मलाई सेन्सर पासको प्रमाणपत्र नदिने निणर्य पनि बोर्डले गरेको छ ।

अब यो फिल्म प्रदर्शन गर्न उक्त संवाद हटाएर पुनः सेन्सर बोर्डमा पेश गर्नुपर्नेछ । संवाद हटाएर पेश गरेपछि मात्र फिल्मले प्रदर्शनको लागि अनुमति पत्र प्राप्त गर्नेछ ।

शुक्रबारदेखि विश्वव्यापी प्रदर्शन हुन लागेको यो फिल्मको ट्रेलरमा पनि जानकी भारतीय छोरी भएको संवाद प्रस्तुत छ । यो संवादलाई लिएर सामाजिक सञ्जालमा समेत व्यापक विरोध हुँदै आएको छ ।

यस्तै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले पनि सो शब्द नहटाए महानगरभित्र हिन्दी फिल्म प्रदर्शन गर्न अनुमति नदिने बताएका छन् ।

फेसबुकमा स्टाटस लेख्दै उनले नेपालमा मात्र नभएर भारतमा पनि नसच्चिए फिल्मलाई महानगरमा प्रदर्शन अनुमति नदिने उल्लेख गरेका हुन् । उनले यो सच्याउन तीन दिनको समय दिएको उल्लेख गरेका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार