काठमाडौं। एसिया कप-२०२३ हाईब्रिड मोडलमा आयोजना हुने भएको छ । एसिया कपका लागि पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले प्रस्ताव गरेको हाइब्रिड मोडेललाई एसियन क्रिकेट काउन्सिल (एसीसी) ले अनुमोदन गर्दै पाकिस्तान तथा श्रीलंकामा आयोजना हुने जनाएको हो ।
हाइब्रिड मोडल अनुमोदन सँगै एसिया कपको मिति समेत टुगों लागेको छ । एसिया कप भदौ १४ गतेदेखि ३१ गतेसम्म आयोजना हुने भएको छ । एसिसीले प्रतियोगिताका चार खेल पाकिस्तान र बाँकी ९ खेल श्रीलंकामा हुने जनाएको छ ।
भारत पाकिस्तान जाने नभएपछि श्रीलंकामा ९ खेल हुने भएका छन् । नेपालले भने पाकिस्तानसँगको खेल पाकिस्तानमै खेल्नेछ । फाइनल खेल भने श्रीलंकामा हुनेछ । समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान छन् । समूह ‘बी’ श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् । हरेक समूहबाट शीर्ष दुई टोली सुपर फोरमा पुग्नेछन् ।
सुपर फोरमा एक अर्कासँग खेलेपछि शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् । नेपालले अघिल्लो महिना घरेलु मैदान टियुमा एसिसी प्रिमियर कपको फाइनलमा युएईलाई हराउँदै एसिया कपमा स्थान बनाएको थियो । आफ्नो क्रिकेट इतिहासमा नेपालले पहिलो पटक भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।
भारत र पाकिस्तानबीचको आन्तरिक राजनीतक विवादको कारण एसिया कप अन्यौलमा परेको थियो । पाकिस्तानले सुरुमा युएईलाई दोस्रो स्थलको रूपमा प्रस्ताव गरेको थियो । सो समयमा युएईमा हुने गर्मीलाई मध्यनजर गरेर पाकिस्तान पछि हटेको बुझिएको छ ।