काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन आगामी जुन २८ देखि ३० तारिखसम्म हुने भएको छ।
ओमानको राजधानी मस्कटस्थित होटल मस्कट होलिडेमा हुने सम्मेलनको नारा ‘अनिवार्य सामाजिक सुरक्षा र सम्मानित वैदेशिक रोजगार, रेमिटेन्सको सही लगानी राष्ट्र निर्माणको आधार’ भन्ने तय गरिएको छ। सम्मेलन गैरआवासीय नेपाली संघको मध्य पूर्व क्षेत्रको मुख्य आयोजना तथा राष्ट्रिय समन्वय परिषद ओमानको आतिथ्यतामा हुनेछ।
त्यहाँनेपाल सरकारका उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूणर्बहादुर खड्का, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारी, प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया, सामाजिक सुरक्षा र बैदेशिक रोजगार बोर्डका कार्यकारी अधिकृत, नेपाल उधोग वाणिज्य महासंघका प्रतिनिधि, नेपाल पत्रकार महासंघका प्रतिनिधी, विभिन्न संचारमाध्यमका पत्रकारहरु लगायतको उपस्थिति रहने आयोजकले जानकारी दिएका छन्।
मध्यपुर्व क्षेत्रीय भेला ऐतिहासिक र अन्य भेलाभन्दा फरक हुने आयोजकको दाबी छ। सम्मेलनमा विश्वका विभिन्न देशबाट आउने अतिथि तथा सहभागीका लागि कुनै पनि रजिष्ट्रेशन शुल्क र आर्थिक सहयोग नलिने निणर्य मध्यपुर्वले गरेको छ । एनआरएनएको क्षेत्रीय सम्मेलन तथा भेलाहरुमा रजिष्ट्रेशन शुल्क र आर्थिक सहयोग उठाएर कार्यक्रम गर्ने प्रचलनलाई मध्यपुर्वले पहिलो पटक तोड्न लागेको हो । यस कार्यको विश्वमा रहेका गैरआवासीय नेपालीहरुले प्रशंशा गरेका छन्।
एनआरएनए मध्यपुर्व संयोजक मनोज गोर्खालीले सम्मेलनमा सहभागी हुन आउने पाहुनाबाट कुनै शुल्क नलिने र स्पोन्सर पनि नलिने निणर्य भएको बताए । संयोजक गोर्खालीले ‘अतिथि देवो भव’ भन्ने स्लोगन राखेर हामीले अन्य क्षेत्रबाट आउने अतिथी र डेलिगेट्सहरुसँग १ रुपैया पनि पैसा लिदैनौ र अन्य रिजनबाट हामीले कुनै स्पोन्सर पनि नलिने बताए । तर अन्य क्षेत्रबाट सहभागी हुनेले आउने हवाई टिकट र होटलको व्यवस्था आफैले गर्नुपर्ने आयोजकले बताएको छ ।
मध्यपुर्व क्षेत्रबाट सहभागि हुनेका लागि भने आयोजक भएकाले निश्चित शुल्क तोकिएको आयोजकको भनाई छ । एनआरएनएका अध्यक्ष कुल आचार्यले मध्यपूर्वले मात्रै सबै खर्च गरेर बाहिरबाट आउने पाहुनाहरुलाई सम्मान र स्वागत गर्ने निणर्यले मध्यपुर्वको एकता,संकल्प र काम गर्ने तीब्र इच्छा शक्ति देखाएको बताएका छन्।
आचार्यले मध्यपूर्वका साथीहरु एकजुट भएर पाहुनाहरुलाई सम्मान गर्दै कुनै शुल्क र स्पोन्सर नलिने निणर्य गरेको यसले संसारका गैरआवासीय नेपालीहरुलाई पाठ सिकाउने बताए ।
आचार्यले मध्यपुर्व क्षेत्रलाई हार्दिक बधाई दिदै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरे । एनआरएनएका कार्यकारी अध्यक्ष बद्री केसीले समेत मध्यपुर्वले गरेको निणर्यको स्वागत गरेका छन्।