काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र (एसडीओसी_ ले ४२ जना सूचना प्रविधि (आईटी) विज्ञ नियुक्तिका लागि आवेदन खुला गरेकामा विज्ञापन सार्वजनिक भएको एकैरातमा १०० भन्दा बढी आवेदन प्राप्त भएका छन् ।
केन्द्रले सरकारी प्रणालीको विकास, सञ्चालन र सुधारमा प्रविधि क्षेत्रका दक्ष जनशक्तिलाई सहभागी गराउने उद्देश्यले १५ पदमा ४२ जना कर्मचारी माग गरेको हो ।
केन्द्रका अनुसार पदपूर्तिका लागि गोरखापत्र र आधिकारिक वेबसाइटमार्फत विज्ञापन प्रकाशित गरिएको छ । विज्ञापन सार्वजनिक भएको छोटो समयमै १०० भन्दा बढी आवेदन प्राप्त भएको केन्द्रले शनिबार जनाएको छ ।
केन्द्रले सार्वजनिक गरेको विवरणअनुसार प्रमुख प्रविधि विज्ञ, परियोजना तथा व्यावसायिक विश्लेषण क्षेत्र प्रमुख, सफ्टवेयर इन्जिनियरिङ क्षेत्र प्रमुख, गुणस्तर विश्लेषण क्षेत्र प्रमुख, पूर्वाधार तथा सञ्चालन क्षेत्र प्रमुख र परियोजना व्यवस्थापक पदमा आवेदन माग गरिएको छ ।
त्यस्तै, वरिष्ठ डेभलपर वा डेभअप्स इन्जिनियर, सिस्टम, नेटवर्क वा डेटाबेस प्रशासक, सिस्टम विश्लेषक, साइबर सुरक्षा विज्ञ, मध्यम तहका डेभलपर, यूआईरयूएक्स डिजाइनर, कनिष्ठ डेभलपर, गुणस्तर विश्लेषक र प्राविधिक सहायता अधिकृत पदमा पनि कर्मचारी भर्ना गरिनेछ ।
केन्द्रले सरकारी सेवा प्रवाहलाई डिजिटल, सुरक्षित र भरपर्दो बनाउनुका साथै विभिन्न सरकारी निकायका सफ्टवेयर प्रणालीको विकास र दीर्घकालीन सञ्चालनलाई प्रभावकारी बनाउने लक्ष्यसहित जनशक्ति नियुक्त गर्न लागेको जनाएको छ ।
सबै पदका लागि आवेदन दिने अन्तिम मिति सन् २०२६ नोभेम्बर ४ तोकिएको छ ।