काठमाडौं। यस वर्षको मनसुन गत बुधवारदेखी नेपाल भित्रिए पनि देशभर फैलन ढिलाइ भएको छ। मनसुन देशभर फैलन ढिलाइ भएसँगै मध्य र पश्चिम तराईमा बढेको गर्मी अझै केही दिन कायमै रहने भएको छ ।
तराई मधेस क्षेत्रमा अझै दुई/तीन दिन वर्षा गराउने प्रणाली सक्रिय हुने सम्भावना कम भएकाले गर्मी कायमै रहने त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक तथा मौसमविद् बिनोद पोखरेलले जानकारी दिनुभयो । मध्य र पश्चिम तराईका नागरिक चर्को घाम र तातो हावाका कारण बढी प्रभावित भएका छन् ।
आउँदो मङ्गलवारदेखि पूर्वी र मध्य क्षेत्रमा मनसुन सक्रिय हुने र आउँदो हप्तादेखि भने नेपालभर नै मनसुन सक्रिय भएर पानी पर्ने पोखरेलले बताए।
अहिले ताप्लेजुङ, कास्की, म्याग्दी, जाजरकोट, डोटी लगायतका जिल्लामा सामान्य पानी परिरहेको भए पनि धेरैजसो ठाउँमा घाम लागेको छ ।
बर्दियामा घरबाहिर ननिस्किन आग्रह
अत्यधिक गर्मी र ’लू’ चलेपछि बर्दियामा सर्वसाधरणलाई आवश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन आग्रह गरिएको छ । ’लू’ले मानिस बिरामी पर्न थालेपछि जिल्ला प्रशासन कार्यालयले यस्तो आग्रह गरेको हो ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले बिहानैदेखि अत्यधिक गर्मीसँगै चलेको ’लू’ले जनजीवन प्रभावित बनेको बताए। शनिबार दिउँसो जिल्लामा दिउँसोको तापक्रम औषत ४२ डिग्री रहेको थियो ।
जिल्ला अस्पतालमा झाडापखाला, टाउको दुःख्ने, रिंगटा लाग्ने, ज्वरो आउने, रक्तचापका बिरामी बढेको छ ।
खडेरीको चिन्ता
आकाशे खेतीको भरमा रहेका किसानहरुले पानी नपर्दा खडेरीको चिन्ता व्यक्त गरेका छन् । दैनिक बढिरहेको गर्मीले धानको बीउ सुक्न थालेपछि बाँकेका किसानहरु भने चिन्तित भएका छन् । आकाशे पानीको भर परेका किसान अत्यधिक गर्मीका कारण धानको बीउ सुक्दै गएपछि मर्कामा परेका हुन् ।
असार लागिसक्दा पनि पानी नपरेपछि यस वर्ष धान उत्पादनमा कमी आउने किसानले आङ्कलन गरेका छन् । बाँके सीतापुरका सर्वजित विष्टले घरमा भएको विद्युतीय मोटर कम भोल्टेजका कारण नचल्दा यस वर्ष खेतीका लागि सिँचाइ गर्न गाह्रो भएको बताए।
गतवर्ष बाँकेको नरैनापुर क्षेत्रलाई सुक्खा क्षेत्र घोषण गरिएकोमा यस वर्ष जिल्ला पूरै सुक्खा हुने चिन्ता यहाँका किसानलाई पर्न थालेको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख शकिल अहमदले बताए। जिल्लामा धान रोपाइँ हुने कूल ३६ हजार पाँच सय हेक्टर खेतीयोग्य जमिन रहेको छ ।
उता अछामको मंगलसेन नगरपालिकामा अघिल्ला बर्षहरुमा वैशाखको अन्तिमसम्ममा रोपाइँ सकिइसक्ने भए पनि यो वर्ष असार लाग्दा पनि खेत बाँझै छ ।
मंगलशेन १३ का धेरै किसान खडेरीले रोपाइँ धकेलिएपछि आकासे झरी कुरेर बसेका छन् । अछाम जिल्लाकै बढी धान उत्पादन हुने यो क्षेत्रमा रोपाइँका लागि पर्याप्त पानी नपरेपछि स्थानीय चिन्तित बनेका छन् ।
स्थानीय धनवीर नेपालीका अनुसार बस्तीको आमाडालाका ५०, बडपिपलका ६, भावर खोलाका ३०, नवाडीका ७, बडीघाटका १०, कोसैनका २० र भिमलाका ४० गरी १६३ खेतमा अहिलेसम्म रोपाइँ हुन सकेको छैन ।
स्थानीयका अनुसार खेतीयोग्य जमिनमा सिँचाइ नहुँदा यहाँका किसानले खाद्यान्न अभाव झेल्नुपर्ने बाध्यता छ । जिल्लामा १६ हजार ५ सय हेक्टर क्षेत्रफलमा धान खेती हुने कृषि ज्ञान केन्द्रको तथ्यांक छ ।