काठमाडौं। बिगत चार दिनमा वर्षा, बाढी र पहिरोका कारण १० जनाको मृत्यु भएको छ। असार २ गते रातिदेखिको अविरल वर्षा, बाढी र पहिरोका कारण १० जनाको मृत्यु भएको उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार प्रतिनिधि सभामा जानकारी गराए।
ती घटनामा परि ६ जना घाइते, २६ जना बेपत्ता र ५४ घर पूर्ण रुपमा क्षति भएको पनि छ। असार २ गते रातिदेखिको अविरल वर्षाका कारण संखुवासभा, ताप्लेजुङ र पाँचथर जिल्लामा बढी क्षति भएको उनले बताए।
गृहमन्त्री श्रेष्ठले विपद् पीडित उद्दार तथा राहत सम्बन्धी मापदण्ड २०७७ अनुसार मृतकको परिवारलाई राहत दिने पनि बताएका छन्। उनले प्रभावित घरधुरीलाई पनि सोही मापदण्ड अनुरुप तत्काल पुनःस्थापनाका लागि रकम दिने उपप्रधानमन्त्री श्रेष्ठले जानकारी दिए ।
उक्त मापदण्डमा मृतकको परिवारलाई २ लाख रुपैयाँ राहत दिने र एकै परिवारको एक भन्दा बढी सदस्यको मृत्यु भएमा प्रतिव्यक्ति थप एक लाख रुपैयाँ राहत दिने व्यवस्था छ ।