बुधवार, आश्विन १४ गते २०८३

आइसिसी विश्वकप छनोट: वेस्ट इन्डिजसँग हार्‍यो नेपाल, अमेरिका समूह चरणबाटै बाहिरियाे

बिहिवार , आषाढ ७, २०८०

काठमाडौं। आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्र्तगत बिहीबार भएको खेलमा वेस्ट इन्डिज र नेदरल्यान्डस् विजयी भएका छन् । जिम्बावेको राजधानीस्थित हरारे स्पोर्टस् क्लबमा नेपाललाई १ सय १ रनको फराकिलो अन्तरले पराजित गर्दै वेस्ट इन्डिजले जित हात पारेको हो ।

वेस्ट इन्डिजले दिएको ३ सय ४० रनको लक्ष्य पछ्याएको नेपालले ४९ दशमलब ४ ओभरमा अलआउट हुदै २ सय ३८ रन मात्र बनायो । नेपालका लागि आरिफ शेखले सर्वाधिक ६३ रन जोड्दा गुलसन झाले ४२ तथा कप्तान रोहित पौडेलले ३० रन बनाए ।

वेस्ट इन्डिजका लागि जेसन होल्डरले ३ तथा अल्जारी जोसेफ, किमो पल र अकिल होसेनले समान २-२ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ३९ रन बनाएको थियो

वेस्ट इन्डिजका लागि शाइ होपले १ सय ३२ रन जोडे भने निकोलाश पूरनले ११५ रन बनाए । बलिङतर्फ नेपालका ललित राजवंशीले ३ विकेट लिए । यस्तै, करण केसी, सन्दीप लामिछाने, गुल्सन झा र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट लिए ।

दुई खेलमा अपराजित वेस्ट इन्डिज ४ अंकका साथ समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ । हारसँगै २ अंक रहेको नेपाल चौथो स्थानमा झरेको छ ।

नेपालले समूह चरणको अन्तिम खेलमा शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ । सुपर सिक्समा स्थान बनाउन नेपाललाई नेदरल्यान्ड्सविरुद्धको खेल जित्नै पर्ने दबाब छ ।

यस्तै, बिहीबारै भएको अर्को खेलमा अमेरिका समूह चरणबाटै बाहिरिएको छ । आज नेदरल्यान्ड्ससँग ५ विकेटले पराजित हुँदै समूह चरणबाटै बाहिरिने पहिलो टोली बनेको छ । समूह ए मा लगातार तेस्रो हारका साथ अमेरिकाको सुपर सिक्स हुँदै विश्वकप खेल्ने सम्भावना समाप्त भएको हो ।

जितको लागि २ सय १२ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले ४३.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । नेदरल्यान्ड्सको जितमा कप्तान स्कट एड्वार्ड्सले सर्वाधिक ६७ रनमा नट आउट रहे ।तेजा निडामानुरुले ५८ रनको योगदान दिए । अमेरिकाका जेसी सिंहले सर्वाधिक दुई विकेट लिए ।

अली खान, सौरभ नेत्रवालकर र नोष्तुश केन्जिगेले समान एक विकेट लिए ।त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अमेरिकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ११ रन बनाएको थियो । अमेरिकाका शायन जहांगिरले सर्वाधिक ७१ रनको योगदान दिए ।

उनले नेपालविरुद्ध पनि शतक हानेका थिए । नेदरल्यान्ड्सका रायन केलीन र बास डि लिडेले समान दुई विकेट लिए । लोगन भान बिक, अर्यान दत्त, विक्रमजित सिंह र फ्लोडले समान एक विकेट लिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार