काठमाडौं। आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेपाल समूह चरणबाटै बाहिरिएको छ। शनिबार टाकासिंगा स्पोर्टस् क्लबमा भएको खेलमा नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भएको नेपाल समूह चरणबाटै बाहिरिएको हो। याेसँगै नेपालको विश्वकप खेल्ने सम्भावना सकिएकाे छ।
योसँगै नेदरल्यान्ड्स सुपर सिक्समा प्रवेश गरेको छ। नेपाल सुपर सिक्समा पुग्नका लागि शनिबारको खेल जित्नैपर्ने दवावमा थियो। योसंगै नेपाल प्रतियोगिताको समूह चरणबाट बाहिरिने तेस्रो देश बनेको छ ।
यस अघि नेपालसँगै समूह ए मा रहेको अमेरिका तथा समूह बी मा रहेको युएई प्रतियोगिताबाट बाहिरीसकेका छन् । नेपाल बाहिरिएसँगै जिम्बावे र वेस्ट इन्डिज पनि सुपर सिक्समा स्थान बनाउन सफल भएका छन् ।
शनिबारको खेलमा नेपालले दिएको १ सय ६८ रनको लक्ष्य नेदरल्यान्ड्सले २७ दशमलब १ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।
नेदरल्यान्ड्सको जितमा ओपनर म्याक्स ओ डाउडले ९० रनको अर्धशतकीय ईनिङ खेले । अर्का ओपनर विक्रमजित सिंहसँग मिलेर पहिलो विकेटका लागि ८६ रनको सानदार साझेदारी गरे । सिंहले ३० रनको योगदान गरे ।
सिंह सन्दीप लामिछानेको बलमा आउट भएका थिए । तेस्रो विकेटका लागि ओ डाउनले बास डि लिडासँग ६२ रनको साझेदारी गरे । बास डि लिडाले ३९ बलमा ६ चौकाको सहयोगमा अविजित ४१ रन बनाए ।
नेपालका लागि सन्दीप लामिछानेले २ तथा गुलसन झाले १ विकेट लिएका थिए ।
त्यसअघि पहिले टस हारेर ब्याटिङ गरेको नेपाल ४४ दशमलब ३ ओभरमा १ सय ६७ रन बनाउदै अलआउट भएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले ५५ बलमा ३ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ३३ रन बनाए । नेपालका ओपनर आसिफ शेख तेस्रो ओभरको दोस्रो बलमा शुन्य रनमा आउट भएका थिए ।
नेपालका कुनै ब्याटरका बीचमा पनि सम्झनलायक साझेदारी हुन सकेन । सन्दीप लामिछानेले ३३ बलमा ४ चौकाको सहयोगमा २७ रन बनाए ।
ओपनर कुशल भुर्तेलले ४२ बलमा २ चौकाको सहयोगमा २७ रन बनाए । नेदरल्यान्ड्सका लागि लगन भान विकले ४ तथा बास डि लिड र विक्रमजित सिंहले समान २/२ विकेट लिए । क्लेटन प्लोयट र आर्यान दत्तले समान १/१ विकेट लिए ।
नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको थियो । नेपालले तेस्रो खेलमा वेस्टइन्डिजसँग १ सय १ रनको फराकिलो हार व्येहोर्न पुगेको थियो ।