काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले लुम्बिनी प्रदेशका ३ सांसदलाई निष्कासन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको कार्यकारिणी समितिको बैठकले पार्टीको निर्णय विपरीत लुम्बिनी प्रदेश सरकारमा सहभागी रहेको भन्दै प्रदेशसभा सदस्यहरु सन्तोषकुमार पाण्डेय, विजय बहादुर यादव र कल्पना पाण्डेलाई निष्कासन गर्ने निर्णय गरेको हो ।
उनीहरुलाई यसअघि पनि जसपाले पार्टीबाट निष्कासन गरेको थियो । तर सर्वोच्च अदालतले उनीहरुको पद थमौती गरेको थियो । पाण्डेय भौतिक पूर्वाधार विकास मन्त्री, यादव भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री र कल्पना पाण्डेय उद्योग वन तथा वातावरण मन्त्री छन् ।
कार्यकारिणी समितिको बैठकले पार्टीको संसदीय दलको विधान पनि अनुमोदन गरेको छ । त्यस्तै नवराज सुवेदीको संयोजकत्वमा रमेश यादव र सुशीला श्रेष्ठ सदस्य रहने गरी ३ सदस्यीय निर्वाचन समिति गठन गरेको छ ।