काठमाडाैं। कान्तिपुर सेक्युरिटी सर्भिस प्रालिले आफ्नो स्थापनाको २५ वर्ष पुगेको अवसरमा रजत जयन्ती मनाएको छ। शनिबार एक कार्यक्रमका बीच प्रालिले आफ्नो स्थापना दिवस मनाएको हो।
सोही अवसरमा कम्पनीलाई सहयोग गर्ने तथा कम्पनीको हकहितका र प्रतिष्ठामा पुर्याएको योगदानको कदरस्वरूप विभिन्न ब्यक्तिहरूलाई सम्मान समेत गरेको छ।
जसमा कम्पनीका पूर्व सञ्चालक रण बहादुर खड्का, अधिवक्ता केशव गौतम, प्रशासन प्रमुख शम्शेर कुमार राई, पूर्व सुरक्षा अधिकृत तीर्थ बहादुर श्रेष्ठ, श्याम थापा, खेमराज भण्डारी रहेका छन्।
कम्पनीले देशभर नेपाल बैंक, दूरसञ्चार, विद्युत प्राधिकरण लगायत ९० भन्दा बढी राज्यका महत्वपूर्ण निकाय, संस्था तथा प्रतिष्ठानहरुमा तीन हजारभन्दा बढी संख्यामा सुरक्षा गार्ड, सवारी चालक, प्राविधिक लगायतका जनशक्ति खटाउँदै आएको छ।
काठमाडौंको चावहिलमा मुख्य कार्यालय रहेको यस कम्पनीका विराटनगर, हेटौँडा, पोखरा, बुटवल तथा धनगढीमा शाखा कार्यालयहरू रहेका छन्।
कम्पनीका प्रबन्ध निर्देशक खेम राज भण्डारीले कम्पनी ७७ वटै जिल्लाहरूमा मागअनुसारको सेवा दिन तत्पर रहेको बताउँदै रजत जयन्तीसम्म आइपुग्दाको विश्वासका लागि धन्यवाद ज्ञापन गरे। उनले भने, ‘हामी ७ वटै प्रदेश र ७७ वटै जिल्लामा माग अनुसारको सेवा दिन तत्पर छौं। अहिलेसम्म कम्पनीले पाएको विश्वासका लागि सम्पूर्णमा धन्यवाद।’