सोमवार, श्रावण २५ गते २०८३

कोरोना खोप : खोपले मृत्युबाट जोगाउन सक्छ, संक्रमणबाट होइन

बुधवार , श्रावण १३, २०७८

काठमाडौँ । कोरोनाविरुद्धको खोपले सबैभन्दा तीव्र गतिमा फैलने डेल्टा भेरिएन्टबाट हुने मृत्युबाट ९९ प्रतिशतसम्म बचाउन सक्ने एक अध्ययनले देखाएको छ । भारतस्थित नेसनल इन्स्टिच्युट अफ भाइरोलोजी (एनआईभी) को हालैको अध्ययनअनुसार खोप लगाएकामध्ये संक्रमित ९.८ प्रतिशतलाई मात्र अस्पतालमा भर्ना गर्नुप¥यो भने ०.४ प्रतिशतको मात्र मृत्यु भयो ।

छिमेकी मुलुक भारतमा गरिएको यो अध्ययनले कोरोनाको संक्रमण र जटिलताबाट बच्न खोप नै एक मात्र विकल्प रहेको देखाउँछ । यस्तै, खोप लगाएका ८० प्रतिशतले अन्य व्यक्तिमा संक्रमण नसार्ने पनि अर्को अध्ययनले दाबी गरेको छ ।

‘टाइम्स अफ इजरायल’ मा प्रकाशित इजरायलको स्वास्थ्य मन्त्रालयले गरेको अध्ययनबारेको समाचारअनुसार खोप लिएका १० प्रतिशत व्यक्तिले एक जनासम्मलाई संक्रमण फैलाउन सक्छन् भने खोप लिएका ३ प्रतिशतले २ देखि ३ जनासम्ममा संक्रमण सार्न सक्छन् । 

७ प्रतिशतले संक्रमण फैलाउन पनि सक्छन् वा नफैलाउन् पनि सक्छन् । इजरायल सरकारले रेस्टुरेन्ट, जिम, इभेन्ट हल, म्युजिक कन्सर्टलगायतका स्थानमा पुगेर व्यक्तिको नमुना लिई अध्ययन गरेको थियो । इजरायलको करिब ६० प्रतिशत जनसंख्याले पूर्ण रूपमा खोप लिइसकेको छ ।

नेपालमा भने खोप लगाएकाहरूमा देखिएको संक्रमण अवस्थाबारे तथ्यांक संकलन भइरहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए । हालसम्मको प्रारम्भिक विश्लेषणअनुसार दुई डोज खोप लगाएकाहरू पनि अस्पताल त भर्ना भएका छन् तर यो संख्या निकै कम छ । 

मंगलबारसम्ममा ३४ लाख ६२ हजार ३ सय ४० जनाले पहिलो डोज र १४ लाख ५७ हजार ६ सय ७० जनाले पूर्ण डोज खोप लगाइसकेका छन् । हालसम्म नेपालमा खोप लगाउने जनसंख्या ११ प्रतिशतभन्दा बढी पुगेको छ ।

दोस्रो लहर सुरु हुँदा करिब ६० प्रतिशतमा अल्फा भेरिएन्ट भेटिएको र हाल करिब शतप्रतिशतमै डेल्टा भेरिएन्ट भेटिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले बताइन ।

पछिल्लो दुई सातादेखि डेल्टाबाहेक अन्य भेरिएन्ट नदेखिएको उनको भनाइ छ । अल्फा भेरिएन्ट कोभिडको प्रारम्भिक (ओरिजिनल) भेरिएन्टको दाँजोमा ६० प्रतिशतभन्दा बढी संक्रामक छ । डेल्टा अल्फाभन्दा पनि ६० प्रतिशत बढी संक्रामक हो । 

उनका अनुसार पूर्ण डोज खोप लगाएपछि पनि संक्रमित भएका राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका कर्मचारी र सम्पर्कमा आएका व्यक्तिमा रोगको कडापन खासै देखिएन । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार