काठमाडौं । मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित एक सुनचाँदी पसलमा हतियार देखाई लुटपाट गर्न खोज्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सुन्दरहरैचा नगरपालिका-१० त्रिवेणी चोकका खगेन्द्र थापाको शिव पञ्चायन ज्वेलर्समा हतियार देखाई लुटपाट गर्न खोजेको अभियोगमा सुनसरीको इटहरी उपमहानगरपालिका-२० तरहरा डेरा गरी बस्नेहरु संखुवासभा सभापोखरी गाउँपालिका-४ घर भएका ३९ वर्षीय प्रकाश भन्ने चन्द्रबहादुर राई, संखुवासभा बारबिसे गाउँपालिका-६ घर भएका ३० वर्षीय चिरञ्जीवी राई र भोजपुर पौवादुम्मा गाउँपालिका–३ घर भएका ३० वर्षीय नगेन्द्र राई छन् ।
यसैगरी सुनसरी गढी गाउँपालिका-१ का ४५ वर्षीय डाइमण्ड भन्ने प्रमोद चौधरी, मोरङ सुन्दरहरैचा नगरपालिका–५ का २२ वर्षीय मिशन राई र सुन्दरहरैचा नगरपालिका–७ का ३१ वर्षीय सन्तोष राईलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।
उक्त ज्वेलर्समा असार ३१ गते ६ जना मोटरसाइकलमा आई लुटपाट गर्ने योजना बनाए पनि सफल हुन नसकेपछि बुढी खोलाको बाटो हुँदै इटहरीतर्फ गएको र साथमा लगेको हतियार नमुना सामुदायिक वन जंगलमा रूखको टोड्कोमा लुकाइ राखेको प्रहरीको भनाइ छ ।
साउन १ गते दिउँसो उक्त ज्वेलर्समा लुटपाट गर्ने उद्देश्यले हतियार सहित प्रमोद चौधरी लगायत तीन जना प्रवेश गरेको र अन्य तीन जना उक्त पसलको वरिपरि निगरानी गरी बसेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।
साथै सुन्दरहरैंचा नगरपालिका-५ नमुना सामुदायिक वनको करमको रूखको टोड्कोभित्र लुकाइ राखेको अवस्थामा घटनामा प्रयोग भएका १ थान एसएमजी, सोको १ थान म्याग्जिन, ६२ राउण्ड गोली, १ थान अटोमेटिक पेस्तोल, सोको १ थान म्याग्जिन, २ राउण्ड गोली, १ थान कटुवा पेस्तोल, थ्रिनटथ्री राइफलको ४ राउण्ड गोली र २ थान सञ्चार सेट प्रहरीले बरामद गरेको प्रहरीले जनाएको छ ।