सोमवार, कार्तिक १० गते २०८३

कोरियाली राजदूत र अर्थमन्त्रीबीच भेट,रोकिएका कामदार लग्ने वातावरण मिलाउन आग्रह

बुधवार , श्रावण १३, २०७८

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुकबचि आज शिष्टाचार भेट भएको छ । अर्थ मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री शर्माले भाषा परीक्षा उत्तीर्ण गरी कोरिया जान नपाएका युवालाई कोरिया जाने वातावरण बनाइदिन आग्रह गरे।     
     
कोभिड महामारीका कारण रोकिएको प्रक्रिया चाँडै अघि बढाउन सरकारको तर्फबाट हुनुपर्ने काम गरिने प्रतिबद्धता जनाउँदै मन्त्री शर्माले कोरियाकोतर्फबाट आवश्यक प्रक्रिया अघि बढाइदिनसमेत आग्रह गरेका हुन्।     
जवाफमा राजदूत पार्कले रोकिएको इपिएसको काम अघि बढाउन आफूले पहल गर्ने बताए। नेपालीको मेहेनती र इमान्दारिताबाट कोरियाली रोजगारदाता खुशी रहेको प्रसङ्ग उल्लेख गर्दै राजदूतले भाषा परीक्षा उत्तीर्ण गरी पालोमा बसेका श्रमिकलाई काममा पठाउने प्रक्रिया अघि बढाइने जानकारी दिएको जनाइएको छ।     
     
भेटका क्रममा अर्थमन्त्री शर्माले कोभिड–१९ विरुद्धको खोप पहिलो प्राथमिकता भएको भन्दै त्यसका लागि कोरियाली जनताकोतर्फबाट आवश्यक सहयोग रहने विश्वास समेत व्यक्त गरे। उनले नेपालको स्वास्थ्य, शिक्षा र प्रविधिका क्षेत्रमा कोरियाले गरिरहेको सहयोगप्रति आभार प्रकट गरे ।

कोरियाले नेपालमा स्वास्थ्य, शिक्षा, जलविद्युत्लगायतका क्षेत्रमा लगानीसमेत गर्दै आइरहेको छ । कोरियाको लगानीमा भक्तपुरको थिमि, नुवाकोट, धनगढी र मुगुमा सुविधासम्पन्न अस्पताल निर्माण गरेको छ भने महोत्तरीको बर्दिवासमा मोडेल पोलिक्निक कलेजको स्थापना गर्दैछ । उक्त कलेजले निर्माण क्षेत्रको दक्षजनशक्ति उत्पादन गर्नेछ ।     
     
मन्त्री शर्माले कोरियासँग नेपालको ४८ वर्षदेखि सुमधुर सम्बन्ध कायम रहिआएको र यसलाई अझै प्रगाढ बनाउन कोसिस गरिने बताए । भेटका क्रममा राजदूतले कोरियाली लगानी रहेको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको काममा भइरहेको ढिलाइबारे चासो राखे । आयोजनामा ढिलाइ हुँदालागत बढ्न जानेतर्फ चिन्ता रहेको उनले उल्लेख गरेका थिए ।     

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार