काठमाडौं। एसिया कपको तयारीमा रहेको नेपाल श्रीलङ्काको स्थानीय क्लबसँग पराजित भएको छ । आज भएको खेलमा नेपाल ब्लूमफिल्ड क्रिकेट एन्ड एथ्लेटिक क्लबसँग ६ विकेटले पराजित भएको हो । नेपालले दिएको १ सय ९८ रनको लक्ष्य ब्लूमफिल्डले २४.३ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो ।
ब्लूमफिल्डका हसिथा बोयागोडाले ९० र अशान फर्नान्डोले नटआउट ५६ रन बनाए । बलिङतर्फ नेपालका सूर्य तामाङ र प्रतिश जिसीले २/२ विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपाल ४३.४ ओभरमा १ सय ९७ रनम अलआउट भएको थियो । नेपालका अर्जुन साउदले ७९ र सन्दीप जोराले ३१ रन बनाए ।
बलिङतर्फ ब्लूमफिल्डका ए वानीनायके र एम पेरेराले २/२ विकेट लिए । एक महिनापछि श्रीलङ्का र पाकिस्तानमा हुने एसिया कपको तयारीमा रहेको नेपालले श्रीलङ्कामा चार वटा अभ्यास खेल खेल्नेछ ।
एसिया कप अन्र्तगत नेपाल र पाकिस्तानबीचको खेल भदौ १३ गते मुल्तानमा हुनेछ ।
त्यसपछि भारतसँग हुने खेलका लागि नेपाल श्रीलङ्का जानेछ । नेपाल र भारतबीचको खेल भदौ १८ गते हुनेछ । समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान छन् । समूह ’बी’ मा बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तान छन् ।
हरेक समूहका शीर्ष दुई टोली ’सुपर फोर’ मा पुग्नेछन् । ’सुपर फोर’ पछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।