सोमवार, कार्तिक १० गते २०८३

उखु किसान फेरि काठमाडौंमा, उखु बारीबाट बेच्यो पैसा माग्न काठमाडौं धाउनुपर्ने बाध्यता

बिहिवार , श्रावण १४, २०७८

काठमाडौं । उखु बिक्री गरेको रकम उद्योगले नदिएपछि किसानहरु फेरी आन्दोलनका लागि काठमाडौं आएका छन् । सरकार र उद्योगीले प्रतिवद्धता जनाएअनुसार रकम नदिएपछि उखु किसान एउटै विषय लिएर पाँचौ पटक काठमाडौं आएका हुन् । 

यसअघी ४ पटक सम्म काठमाडौं आएर आन्दोलन गरेका थिए । काठमाडौं आएर आन्दोलन गर्दा उद्योगले बक्यौता रकम तिर्ने सम्झौता गरेपनि सम्झौता अनुसार पैसा नपाएपछि यसपटक फेरी उनिहरु काठमाडौं पुगेका हुन् । 

बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी उनीहरूले चिनी उद्योगसँग लिन बाँकी भुक्तानी अझैसम्म नपाएको गुनासो गरेका छन्।

पत्रकार सम्मेलनमा उखु किसान संघर्ष समितिका संरक्षक राकेश मिश्रले पहिला सरकारलाई आफूहरूको अवस्थाबारे अवगत गराउने र आगामी भदौ ५ गतेसम्म सम्पूर्ण भुक्तानी नगरे आन्दोलन गर्ने चेतावनी दिए।

मिश्रले उद्योग मन्त्रालयसँग २१ दिनभित्र सम्पुर्ण बाँकी बक्यौता रकम मन्त्रालयले भुक्तानी गराउने भनी २०७७ पुस १३ गते पाँचबुँदे सहमति भएपनि हालसम्म आफूहरूले सम्पूर्ण भुक्तानी नपाएको गुनासो पोखे।

सरकार उदासीन भएकाले आफूहरू अन्यायमा परेको उनको भनाइ छ। मिश्रले विगत तीन/चार वर्षदेखिकै करिब ३० करोड भुक्तानी आफूहरूले पटक-पटक आन्दोलन गर्दा पनि नपाएको भन्दै फेरि आन्दोलनको तयारीमा जुटिसकेको स्पष्ट पारे।

अहिलेसम्म २०७४ कै भुक्तानी रकम नपाएको मिश्रले बताए। उनले उखु किसानहरूले दाबी गरेको ९० करोड मध्ये २५ करोड रुपैयाँ उद्योग मन्त्रलायले विवादित भनी कार्यदलले प्रतिवेदनमार्फत छिनोफानो गर्ने भनिए पनि यसबारे मन्त्रालयले चासो नदिएको आरोप लगाए।

६ वटा उखु मिलबाट किसानले ४१ करोड रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको समितिका सचिव हरेश्याम राय यादवले दाबी गरे । सचिव यादवका अनुसार अन्नपूर्ण चिनी मिलबाट ९ करोड, श्रीराम सुगर मिलबाट ८ करोड, इन्दीरा चिनी मिलबाट २ करोड र लुम्बिनी चिनी मिलबाट तीन करोड रुपैयाँ बक्यौता उठाउन बाँकी छ ।

यस्तै सरकारले उखु किसानलाई अनुदान दिएको तर उद्योगले हिसाब मिलान नगरेको साढे ६ करोड हाराहारी रकम किसानले पाउन बाँकी रहेको यादवले बताए ।

किसानको बक्यौता विवाद हेरिरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भने किसानहरुको एक रुपैयाँ पनि बक्यौता बाँकी नरहेको दाबी गरेको छ । यसअघिको बार्तामै किसानको सबै भुक्तानी भइसकेको मन्त्रालय प्रवक्ता डा.नारायणप्रसाद रेग्मीले बताए ।

भुक्तानी बाँकी रहेको जिल्लाको जिल्ला प्रशासन र उद्योगीहरुले पनि किसानको सबै भुक्तानी भइसकेको जानकारी मन्त्रालयमा पठाएको प्रवक्ता रेग्मीले बताए ।
 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार