काठमाडौं। फिफा महिला विश्वकप फुटबलमा समूह ’एच’बाट कोलम्बिया र मोरक्को नक आउट चरणमा पुगेका छन् । आज अस्ट्रेलियाको एनआईबी स्टेडियममा भएको खेलमा मोरक्कोले कोलम्बियालाई १-० गोलले पराजित गरेको छ ।
मोरक्कोका लागि एनिसा लहमारीले पहिलो हाफको इन्ज्युरी समयमा गोल गरिन् । कोलम्बिया र मोरक्को समान ६ अङ्कसहित पहिलो र दोस्रो स्थानमा रहँदै समूह ‘एच’ अन्तिम १६ मा पुगेका हुन् ।
यस्तै, सोही समूहको अर्को खेलमा दक्षिण कोरियासँग १-१ गोलको बराबरी खेल्दै जर्मनी समूह चरणबाटै बाहिरिएको छ । जर्मनी पहिलो पटक विश्वकप फुटबलको समूह चरणबाटै बाहिरिएको हो ।
जर्मनी ४ अङ्कसहित तेस्रो स्थानमा रहँदा दक्षिण अफ्रिका १ अङ्कसहित पुछारमा रह्यो । अब शनिवारदेखि अन्तिम १६ का खेल शुरु हुनेछन् ।