काठमाडौं। मोटरसाइकलको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याइएको तस्करीको सुन गाल्ने कार्य सकिएको छ । बिहान साढे १० बजेबाट नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन गालिएको हो ।
गालिएको सुनको तौल सार्वजनिक गर्ने तयारी भइरहेको महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिनुभयो । यसअघि हिजो ब्रेक सुबाट छुट्याइएको सुनको तौल ६० किलो ७ सय ८९ ग्राम रहेको पाइएको छ ।
भन्सार जाँचपास भएर सिनामंगलको रोडमा निकालिएको सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । सुनसहितको ब्रेक सु १ सय ५५ किलो बरामद गरिएको सार्वजनिक गरिएको थियो ।
थप तीन जना पक्राउ
त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर बाहिरिएको सुन तस्करी प्रकरणमा थप तीन चिनियाँ नागरिक पक्राउ परेका छन् ।
प्रहरीले आज काठमाडौंबाट दुई पुरुष र एक महिलालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा झाओ हुई, जोङ छ्याङ र ताङ जिङ महिला रहेका छन् ।
पक्राउ परेकाको साथबाट ३० लाख रुपैयाँ पनि बरामद गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) स्रोतले जानकारी दिएको छ । हाल सीआईबीले सो प्रकरणको अनुसन्धान गरिरहेको छ ।