बुधवार, आश्विन १४ गते २०८३

मणिपुरमा शान्ति कायम गर्ने प्रयासमा रहेको भारतीय प्रधानमन्त्री मोदीको भनाई

मंगलवार , श्रावण ३०, २०८०

काठमाडौं। भारतले मंगलबार ७७ औँ स्वतन्त्रता दिवस मनाएको छ । सन् १९४७ अगस्ट १५ मा भारत बेलायतबाट स्वतन्त्र भएको थियो । भारतले हरेक वर्ष अगस्ट १५ तारिखमा स्वतन्त्रता दिवस मनाउने गरेको छ ।

दिवसको अवसरमा दिल्लीमा रहेको लाल किल्लामा भएको कार्यक्रमलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हिंसाग्रस्त मणिपुर राज्यमा शान्ति कायम गर्ने प्रयासमा आफ्नो सरकार रहेको बताएका छन्। मोदीलाई हिंसा फैलिदै गर्दा  मणिपुरबारे नबोलेको भन्दै कडा आलोचना भएको थियो ।

मणिपुरमा गत मे महिनामा मैतेई र कुकी समुदायबीच हिंसा शुरु भएको थियो । त्यसयता अहिलेसम्म एक सय ४० जनाको ज्यान गइसकेको छ भने हजारौँ मानिस विस्थापित भएका छन् ।

मणिपुरकै विषयलाई लिएर विपक्षी दलहरूले देशको सङ्घीय संसद्मा मोदीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएका थिए । तर गएको हप्ता त्यो प्रस्ताव अस्वीकृत भएको थियो ।

यस्तै प्रधानमन्त्री मोदीले भारतको अर्थतन्त्र अहिले विश्वमा शीर्ष पाँचौँ स्थानमा रहेको भन्दै आउँदो पाँच वर्षमा भारतलाई तेस्रो स्थानमा पुर्‍याउने घोषणा गरे।

मोदीले भाषणमा नाम नलिईकनै विपक्षी दलहरूको नवगठित गठबन्धन र कांग्रेस पार्टीप्रति कटाक्ष गरे।

परिवारवादको प्रसङ्ग उठाउँदै उनले भने, "लोकतन्त्रमा एउटा रोग आएको छ - परिवारवादी पार्टी। उनीहरूको एउटै मन्त्र छ - परिवारले, परिवारका लागि, परिवारद्वारा।"

''देश विकासका लागि उनीहरूबाट मुक्ति पाउनु आवश्यक छ। सामाजिक न्याय बिग्रिएको छ भने त्यो तुष्टीकरणका कारण बिग्रिएको छ।"

भ्रष्टाचारको प्रसङ्ग उठाउँदै मोदीले भने,"अब आँखा बन्द गर्ने समय छैन। यदि सङ्कल्प पूरा गर्नु छ भने हामीले तीनवटा खराबीसँग लड्नुपर्छ। भ्रष्टाचारविरुद्ध युद्ध, मुक्ति सबै क्षेत्रमा आवश्यक छ।

''दोस्रो खराबी परिवारवाद हो। यसले यो देशको हक खोसेको छ। तेस्रो खराबी तुष्टीकरण हो। यसबाट हाम्रो राष्ट्रिय चरित्रमा दाग लाग्छ। त्यसैले भ्रष्टाचार, परिवारवाद र तुष्टीकरण तीन खराबी हुन्।"

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार