शनिवार, कार्तिक १ गते २०८३

गैरआवासीय नेपालीहरुले गरे टाइगर प्यालेस रिसोर्टको स्वामित्व खरिद गरेको घोषणा

बिहिवार , श्रावण ३२, २०८०

काठमाडौं। भैरहवामा रहेको टाइगर प्यालेस पाँचतारे रिसोर्ट गैर आवासीय नेपालीहरुले खरिद गरेका छन्। अमेरिकामा हायात, होलिडे इनलगायतका चेन होटलहरु संचालन गरिरहेका एनआरएनए अमेरिकाका निवर्तमान अध्यक्ष बुद्धिसागर सुवेदी,युकेमा होलीकाउ लगाएत संचालन गरिरहेका एनआरएनए अध्यक्ष कुल आचार्य,महासचिव केशव पौडेल,एनआरएनए क्यानडाका अध्यक्ष दीपक गौतम लगायत एनआरएनएको समुहले उक्त रिसोर्ट खरिद गरेको हो ।

सुवेदी अध्यक्ष रहेको हिमालयन टाइगर इन्भेष्टमेन्ट एलएलसी कम्पनीले टाइगर प्यालेसको लगानीकर्ता कम्पनी सिल्भर हेरिटेज इन्भेष्टमेन्ट कम्पनी खरिद गरेको हो । हिमालयन टाइगर कम्पनी अमेरिकाको डेलावेयरमा दर्ता रहेको कम्पनी हो । सुवेदीसहितको एनआरएनए समूहले सिल्भर हेरिटेजको शेयर विदेशमै खरिद गरेपछि रिसोर्टको स्वामित्व हिमालयन टाइगर कम्पनीमा सरेपनि केही विवादहरु सिर्जना भएको छ ।

उक्त विवाद र हल्लापछि कम्पनीले बुधवार पत्रकार सम्मेलन नै गरेर आफ्नो भनाई सार्वजनिक गरेको छ । विदेशमा शेयर खरिद बिक्री गरिएपनि टाइगर प्यालेस रिसोर्ट खरिदबापत सरकारलाई लाग्ने सम्पुर्ण करहरु तिर्न तयार रहेको अध्यक्ष बुद्धिसागर सुवेदीले उक्त पत्रकार सम्मेलनमा जानकारी दिएका छन्।

गैरआवासीय नेपाली सुवेदी सहितको टिमले रिसोर्ट विदेशमै खरिद गरेपछि त्यसबापत तिर्नुपर्ने कर सरकारलाई नदिएको भन्ने आरोप लागीरहेको बेला उनले बुधबार पत्रकार सम्मेलन गरेर कर तिर्न कुनै कसुर बाँकी नराख्ने बताए ।

टाइगर प्यालेस रिसोर्टका अध्यक्ष सुवेदीले  कानुनमा उल्लेख भएका सम्पूर्ण दायित्वहरु बहन गर्नका लागि आफू र आफ्नो टिम तयार भएको जानकारी गराए । उनले उक्त जानकारी कर कार्यालयलाई दिइसकेको पनि बताए । ‘हामी नेपालमा नाफा कमाउन मात्रै आएका हैनौ ,देशप्रतिको दायित्व पुरा गर्न र देशको मायाका कारण आएका हौ अध्यक्ष सुवेदीले दावी गरे ।

अष्ट्रेलियन कम्पनीले रिसोर्ट सञ्चालन तथा क्यासिनो व्यवसाय गर्ने सिलसिलामा नेपालमा करिब ५ अर्ब रुपैया लगानी गरेको थियो । कोभिड महामारी र रिसोर्ट सञ्चालनको क्रममा देखिएको आन्तरिक विवादको कारण केही वर्षदेखि रिसोर्ट पूर्णरुपमा सञ्चालन हुन सकेको थिएन ।

करोडौ रुपैयाँ घाटा व्यहोर्दै आएको रिसोर्ट पूर्णरुपमा सञ्चालन हुन नसक्दा सँयौ नेपालीले रोजगारी गुमाउनुका साथै सरकारको करोडौं राजस्व गुम्दै आएको थियो । रिसोर्टले नेपालका बैंकहरुलाई तिर्नुपर्ने साँवा र ब्याजको दायित्व पनि तिर्न सकिरहेको थिएन । उक्त रिसोर्टको बैकको ऋणमात्रै साढे २ अर्ब रुपैयाँ रहेको छ ।

प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालन भएको रिसोर्ट बन्द हुने अवस्थामा पुगेको र विदेशमासमेत नेपालमा वैदेशिक लगानीको वातावरण नभएको गलत सन्देश जाने सूचना पाएपछि हामी विदेशमा बस्ने गैरआवासीय नेपालीहरुले सिल्भर हेरिटेज लिमिटेडमा भएको सबै सेयरहरु खरिद गरेको सञ्चालक दिपक गौतमले बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार