काठमाडौं । धवलागिरि गाउँपालिका ७ बादिकामा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु र आठजना घाइते भएका छन् । म्याग्दीको ताकम हुँदै बेनीतर्फ जाँदै गरेको ग १ ज ६८०५ नम्बरको जिप शुक्रबार बिहान दरबाङ–धारापानी सडकअन्तर्गत बादिकाको भीरबाट खसेको हो ।
दुर्घटनामा परी धवलागिरि गाउँपालिका-७ ताकमका २७ वर्षीय विकास सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले जानकारी दिए। सुनार सडकबाट खसेर सल्लाको रुखमा अड्किएको जीपबाट उछिट्टिएर भीरमा खसेका थिए ।
दुर्घटनामा चालकसहित आठजना घाइते भएका छन्। चालक आकाश रसाइलीको निधार र घाँटीमा चोट लागेको छ । दरबाङ स्वास्थ्य केन्द्रमा उपचार गरेका अन्य यात्रुको स्वास्थ्य अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
जिप सडकबाट पल्टिएर सल्लाको रुखमा अड्किँदा जीपभित्र रहेका यात्रुहरु बाँचेका हु्न् । मृतक सुनारको शव भीरदेखि केही तल भेटिएको इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरीक्षक सन्तोष पौडेलले बताए ।