काठमाडौं । धनुषा प्रहरी हिरासतमा रहेका एक थुनुवा शुक्रबार बिहान झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।
भाइसँगको अपसी विवादमा ज्यान मार्ने उद्योग तथा अंगभंग मुद्दामा पक्राउ परेका धनुषाको लक्ष्मीनिया गाउँपालिका २ सिनुरजोडा बस्ने ४० वर्षीय पल्टु रविदासको शव जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतको शौचालयमा झुण्डिएको अवस्थामा फेला परेको हो ।
रविदासले शौचालयको भेन्टिलेशनमा आफ्नै गञ्जीले पासो लगाएगरेको धनुषा प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले बिहान साढे ४ बजेतिर शौचालयमा झुण्डिएको अवस्थामा शव फेला परेको र घटना विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।
ज्यान मार्ने उद्योग तथा अंगभंग मुद्दामा पक्राउ परेका रविदासलाई धनुषा जिल्ला अदालतले २ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । तर, आर्थिक अवस्था कमजोर भएको हुँदा रविदासले धरौटी बुझाउन नसक्ने भएपछि अदालतले उनलाई सिन्धुली कारागार पठाउन आदेश दिएको थियो ।
कारागार पठाउनको लागि हिरासतमा राखिएका रविदासले तनावमा आएर आत्महत्या गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । यता, परिवारजनले हिरासत आत्महत्या गर्न सम्भव नभएको भन्दै घटनाको सूक्ष्म अनुसन्धान गर्न माग गरेका छन् ।