बुधवार, आश्विन १४ गते २०८३

भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण

बुधवार , भाद्र ६, २०८०

काठमाडौं। भारतले पठाएको चन्द्रयान-३ चन्द्रमामा सफलतापूर्वक अवतरण भएको छ । भारतीय समयअनुसार ६ बजेर ४ मिनेटमा चन्द्रयान-३ चन्द्रमामा अवतरण भएको इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो) ले जनाएको छ । योसँगै भारत चन्द्रमामा ‘सफ्ट ल्यान्डिङ’ गर्ने चौथो र चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने पहिलो देश बनेको छ ।

गत जुलाई १४ तारिखमा भारतीय समयअनुसार दिउँसो २ बजेर ३५ मिनेटमा हरिकोटाबाट उडान भरेको चन्द्रयान-३, ४० दिनको लामो यात्रा पूरा गरेर चन्द्रमासम्म पुगेको हो । चार वर्षअघि चन्द्रयान-२ चन्द्रमामा अवतरण गर्ने क्रममा दुर्घटना भएपछि त्यसलाई थप परिष्कृत गर्दै भारतले चन्द्रयान-३ बनाएको हो ।

सन् २००८ मा भारतले पठाएको पहिलो चन्द्र ’मिसन’ चन्द्रयान-१ ले चन्द्रमाको सतहमा पानीका अणुहरू रहेको पत्ता लगाएको थियो । चन्द्रमामा चन्द्रयान-३ को सफल अवतरणसँगै भारतमा खुसियाली मनाइएको छ ।

सो यानले चन्द्रमाको कम अनुसन्धान भएको दक्षिणी धुव्रमा बरफको खोजी गर्नेछ । बरफ भेटिएको अवस्थामा चन्द्रमामा मानव बस्ती विकास गर्न सहयोग पुग्ने वैज्ञानिकहरुको दाबी छ ।

यसअघि भारतको चन्द्रयान-३ भन्दा केही दिनअघि चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने तयारीमा रहेको रुसको यान लुना-२५ दुर्घटनामा परेपछि भारत पहिलो भएको हो । अमेरिका, रुस र चीनले चन्द्रमाको भूमध्य रेखा नजिक यान अवतरण गरे पनि कसैले पनि दक्षिणी ध्रुवमा अवतरण गरेका थिएनन् । 

यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चन्द्रयानको अवतरण एक मुश्किलको महासागर पार गरेको क्षण भएको बताउँदै सम्पूणर् भारतबासीलाई बधाई दिएका छन्।

ब्रिक्स सम्मेलनका लागि दक्षिण अफ्रिका पुग्नुभएका प्रधानमन्त्री मोदीले ऐतिहासिक र अभूतपूर्व सफलता हासिल भएको जनाउँदै  भारतले चन्द्रपथमा जित हात पारेको बताए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार