काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता भएको छ । दुबैबीच दक्षिण अफ्रिकामा आयोजित ब्रिक्स शिखर सम्मेलनका क्रममा भेटवार्ता भएको हो ।
भेटवार्तामा सीमामा तनाव कम गर्नमा जोड दिइएको थियो । विदेश सचिव विनय क्वात्राले एक ब्रिफिङमा प्रधानमन्त्री मोदीले हिजो चिनियाँ राष्ट्रपति सी जिनपिङसँग एलएसीमा समाधान नभएका मुद्दाहरूमा चासो राखेको बताए। सीमामा उत्पन्न तनावका कारण तीन वर्षदेखि भारत र चीनबीच सम्बन्ध चिसिएको छ ।
यी दुुई देशबीच हिमाली क्षेत्र अवस्थित ३ हजार ४४० किलोमिटर लामो सीमामा अस्पष्टता छ । त्यसलाई लाइन अफ एक्चूअल कन्ट्रोल (एलएसी) भनिन्छ ।
एलएसीबाट सैनिकहरूलाई हटाउने प्रयास अघि बढाउन सहमत भएको विदेश सचिव क्वात्राले बताए। चिनियाँ विदेश मन्त्रालयले एउटा विज्ञप्ति प्रकाशित गर्दै सी र मोदीबीच “चीन-भारतबीच विद्यमान वर्तमान सम्बन्ध र पारस्परिक हितसँग सम्बन्धित अन्य विषयमा खुलस्त र गहिरो छलफल“ भएको जनाएको छ ।