क्यानडा। गैरआवासीय नेपाली संघ (एनआरएनए)को एघारौं महाधिवेशनमा संघका वर्तमान अमेरिकन रिजनका सह संयोजक अभिमन्यु बस्नेतले सहकोषाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। केही दिनमा आगामी कार्ययोजना सहित औपचारिक उम्मेदवारी घोषणा गर्ने तयारी रहेको बताउँदै बस्नेतले एनआरएनएमा आफ्नो सकृयता, क्रियाशीलता र निरन्तरताका लागि सहकोषाध्यक्षमा उम्मेदवारी दिएको बताए ।
उनले उक्त पदमा यस अभियानमा आफूभन्दा सिनियर मान्छे कोही आउँदा आफूले छाडिदिने बताए । हाल भद्रगोल अवस्थामा चलिरहेको संघको आर्थिक प्रणालीलाई वर्तमान कार्यकालमा व्यवस्थित गर्नको लागि धेरै मेहनत गर्नुपर्ने र त्यसको लागि संघलाई आफ्नो उर्जा र इमान्दारिताले योगदान गर्नको लागि आफ्नो उम्मेद्वारी आवश्यक रहेको बस्नेतको तर्क रहेको छ ।
संघ क्यानडाको विभिन्न पदमा रहँदै आईसीसी सदस्य, विभिन्न टास्कफोर्समा रही हाल अमेरिकन क्षेत्र डिआरसीको जिम्मेवारीलाई संस्थागत मर्यादा र निष्ठापूर्वक निभाएका बस्नेतलाई सङ्गठनका अग्रज र समकालिनहरुको पनि समर्थन रहेको छ । सबैसँग मिलेर काम गर्न सक्ने र पाएको जिम्मेवारीलाई इमान्दारिता पूर्वक सम्पन्न गर्न सक्ने ब्यक्तिका रुपमा बस्नेतले एनआरएनमा आफ्नो परिचय बनाएका छन्।
नेपाललगायत विश्वका बिभिन्न देशमा मानवीय सेवा ,अन्य कल्याणकारी काम र परोपकारी कामको लागी सधैँ क्रियाशील बस्नेत यो अभियानमा पनि केही दिनको लागी आउन लागेको बताउँछन्। आफ्नै मेहनत र इमान्दारिताले सफल ब्यक्तिको रुपमा स्थापित भएका बस्नेत संघमा पनि पदीय जिम्मेवारीलाई संस्थाको उन्नति र प्रगतिका लागि प्रयोग गर्ने संस्कार बसाल्न अत्यन्त जरुरी भएको र त्यसका लागि कडा अनुशासन कायम गर्नु आवश्यक रहेको बताउँछन्।
प्रवासी नेपालीहरूमा एनआरएनए प्रतिको भरोसामा कमी आएको वास्तविकतालाई स्वीकारेर विधि विधान, आर्थिक पारदर्शिता र नेतृत्वमा इमान्दारिता कायम गर्नको लागि सह कोषाध्यक्षको जिम्मेवारी लिन चाहेको र त्यसका लागि सबै गैरआवासीय नेपालीहरूको समर्थन रहने कुरामा आफू विश्वस्त रहेको बस्नेतले बताए ।
विगतमा सुरु भएका राम्रा आर्थिक नीति र कार्यक्रमलाई संस्थागत गर्ने , आर्थिक रुपमा संस्थालाई आत्मनिर्भर र पारदर्शी बनाउने, सँस्थामा आर्थिक पारदर्शिता सहित चुहावट रोक्ने लगायतका परिवर्तनकारी योजना सहित छिट्टै औपचारिक कार्यक्रम गरि आफू अगाडि बढ्ने जनाउदै बस्नेतले आफ्नो अभियानलाई साथ दिन सबै गैरआवासीय नेपालीलाई आग्रह गरेका छन्।