काठमाडौं । पटक-पटक विद्युत् कटौती हुन थालेपछि सर्लाहीस्थित लालबन्दीका युवा आन्दोलित भएका छन् । दिनमा २ औं पटक हुने विद्युत कटौती र कम भोल्टेज आउने समस्याले हैरान भएका लालबन्दीका स्थानीय शुक्रबार प्रदर्शनमा उत्रिएका हुन् ।
प्रदर्शनमा उत्रिएका युवाहरूले विद्युत् प्राधिकरणको लापरबाहीविरुद्ध पूर्वपश्चिम राजमार्गअन्तर्गत लालबन्दी सडक खण्डमा केहीबेर चक्काजाम गरेर नाराबाजीसमेत गरेका थिए । छिनछिनमै विद्युत् कटौती हुने र कम भोल्टेजका कारण विद्युतीय सामग्री बिग्रिएर हैरान भएपछि बाध्य भएर आन्दोलनमा उत्रनुपरेको उनिहरुले बताएका छन् ।
उनीहरूले लालबन्दीमा रहेको विद्युत् प्राधिकरणमार्फत ज्ञापनपत्र पठाउँदै समस्या समाधानमा प्राधिकरणले चासो नदिए थप आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिएका छन् ।
यता विद्यु्त् प्राधिकरण लालबन्दी वितरण केन्द्र प्रमुख सुधीर रायले यो समस्या समाधान हुन अझै दुई साताजति लाग्ने बताएका छन् । उनका अनुसार ढल्केबर ग्रिडको सबस्टेसनको ३० एमपिए पावर ट्रान्सफर्मर बिगिएका कारण सर्लाहीको विद्युत् आपूर्तिमा समस्या भएको हो ।
रौतहटको चन्द्रनिगाहपुरबाट ल्याइएको प्रसारण लाइनको कन्डक्टर क्षमताभन्दा बढी करेन्ट प्रवाह हुँदा ओभरलोड भएका कारण विद्युत् आपूर्तिमा समस्या भएको उनको भनाई छ ।