बुधवार, आश्विन १४ गते २०८३

एसिया कपमा पाकिस्तानसँग नेपाल फराकिलाे अन्तरले पराजित

बुधवार , भाद्र १३, २०८०

एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपाल पाकिस्तानसँग २३८ रनको फराकिलो अन्तरले पराजित भएको छ । घरेलु टोलीले दिएको ३४३ रनको लक्ष्य पछ्याएको नेपालले २३.४ ओभरमा १० विकेट गुमाएर १०४ रन मात्र बनाउन सक्यो ।

पाकिस्तानका सदाब खानले ४ तथा शाहिन शाह अफ्रिदी र ह्यारिस रौफले २/२ विकेट लिए । नसिम शाह र मोहम्मद नवाजले एक एक हात पारे ।

नेपालका सोमपाल कामीले २८ र आरिफ शेखले २७ रन बनाउन सके । यी दुईले चौथो विकेटका लागि ५९ रनको साझेदारी गरेका थिए । नेपालले ७२ रन जोड्दा ह्यारिस रौफले आरिफलाई आउट गर्दै उक्त साझेदारी तोडे । त्यसपछि रौफकै बलमा सोमपाल आउट भए ।

नेपालले १४ रनमै ३ विकेट गुमाएको थियो । कुशल भुर्तेल ८ र आसिफ शेख ५ रनमा आउट भए भने कप्तान रोहित पौडेलले खाता खोल्न सकेनन् । गुल्सन झाले १३ रन बनाए भने सन्दीप लामिछानेले खाता खोल्न सकेनन् ।

टस जितेर ब्याटिङ थालेको पाकिस्तानले ५० ओभरमा ६ विकेट गुमाउँदै ३४२ रन बनाएको थियाे । 

पाकिस्तानका लागि बाबरले उत्कृष्ट शतकिय पारी खेले । उनले १४ चौका र ४ छक्काको मद्धतमा १५१ रन बनाए । इफ्तिखर अहमदले पनि ११ चौका र ४ छक्काको मद्धतमा १०९ रनको शतकिय पारी खेले । 

ओपनर फखार जमान र इमाम उल हक भने सस्तोमै आउट हुन पुगे । जमानले १४ र हकले ५ रन मात्रै बनाए । विकेटकिपर मोहम्मद रिजवानले ४४ रन बनाए । 

अघा अली सलमानले ५ रन जोडे ।

नेपालका लागि सोमपाल कामीले दुई विकेट लिँदा करन केसी र सन्दीप लामिछानेले एक/एक विकेट लिए । कप्तान रोहित पौडेलले इमाम र दीपेन्द्रसिंह ऐरीले रिजवानलाई उत्कृष्ट रन आउट गरे । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार