कतार। गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी अक्टोबरमा हुने महाधिवेशनका लागि कतारबाट वर्तमान युवा उपाध्यक्ष राज रेग्मीले एनआरएनए आईसीसी उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्। एनआरएनएमा युवा सहभागिता र उद्यमशिलता बढाउने लक्ष्यसहित रेग्मीले उपाध्यक्ष पदमा उम्मेदवारी दिने बताए ।
रेग्मीले विभिन्न देशका एनसीसीहरुमा पुगेर उपाध्यक्ष पदमा आफूलाई समर्थन गर्न आग्रह गरिरहेका छन्।
एनआरएनएमा मध्यपूर्व युवा संयोजक हुँदै आईसीसी युवा उपाध्यक्षको जिम्मेवारी कुशलताका साथ निभाएका रेग्मीले एनआरएनए अभियानको यात्रालाई निरन्तरता दिँदै आगामी कार्यकाल २०२३–२५ का लागि उपाध्यक्षमा उम्मेदवारी दिएका हुन्।
पछिल्लो समय देश/विदेश दौडाहामा हिडेका रेग्मी उपाध्यक्ष हुँदै एनआरएनएको नेतृत्व सम्हाल्ने दौडमा रहेका छन्। रेग्मी एनआरएनए अभियानमा सम्भावना बोकेका नेता हुन्। एनआरएन अभियानमा उदयमान तथा ऊर्जाशील रेग्मी कतारमा सफल व्यवसायीका अलावा समाजसेवीका रुपमा परिचित छन्।
संघको अभियानमा आफूले प्राप्त गरेको अनुभव, अग्रजहरूको आग्रहमा उपाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णयमा आफू पुगेको रेग्मी बताउँछन। रेग्मीले सन २०२३–२५ कार्यकालका लागि सबैको आग्रह र एनआरएनएभित्र काम गर्न सक्ने पदमा पुगेर केही गर्ने इच्छा अनुसार आफूले एनआरएनए आईसीसी उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको बताए ।
उनले एनआरएनए अभियानमा लागिरहँदा एनआरएनएमा युवापुस्ताका मुद्दालाई स्थापित गर्न, दोश्रो पुस्ताका नेपालीलाई एनआरएनएमा आकर्षित गर्न, विदेशमा रहेका श्रमिकहरूको आवाज बुलन्द बनाउन आईसीसी उपाध्यक्ष पदमा उम्मेदवारी दिएको बताए ।
कतार तथा नेपालमा सामाजिक कार्यका लागि सदैव अग्रस्थानमा रहेर सहयोग तथा समर्थन गर्दै आएका रेग्मी सबैका प्रिय व्यक्तिका रुपमा एनआरएनएमा चिनिन्छन्। एनआरएन अभियानमा उनको उपस्थितिलाई विश्वभरका नेपालीले अन्तरआत्मादेखि स्वागत गरेका छन्।
विश्वभर रहेका दोश्रो पुस्ताका युवालाई लक्षित गरेर ‘ग्लोवल एनआरएन सिंगिङ आइडल’को आयोजना गरिरहेका रेग्मीले दोश्रो पुस्तालाई एनआरएनमा जोड्ने विभिन्न कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिसकेका छन्।
रेग्मीले विश्वभर रहेका नेपालीहरुसँग अपील गर्दै आजको दिनसम्म आइपुग्दा यहाँहरुको माया, साथ, शुभेच्छा र समर्थनले जुन सफलता हासिल गरे त्यसलाई निरन्तरता दिदै भोलिका दिनमा आईसीसी उपाध्यक्षमा रहेर काम गर्ने अवसर दिनुहुनेछ भन्ने आशासहित हार्दिक अपिल गरेका छन्।
सामूहिक लगानीमा युवाहरूको सहभागिता, युवा स्वरोजगार, सीप र पूँजीको व्यवस्थापन, सुरक्षित र मर्यादित वैदेशिक रोजगारी, राहत कोष स्थापना, नेपाली कला सँस्कृतिको जगेर्ना, मतदानका लागि पहल गर्ने, स्मार्ट र वैज्ञानिक एनआरएनए बनाउने लगायतका प्रतिवद्धता रेग्मीका रहेका छन्। उनले आफू यस अभियानमा केही लिन नभई दिन आएकाले सबै अभियन्ता र गैर आवासीय नेपालीहरुलाई आफ्नो अभियानलाई समर्थन गर्न अनुरोध गरेका छन्।
उनले आफूले विगतमा पनि विश्वमा रहेका सबै गैरआवासीय नेपालीहरूको सल्लाह सुझावकै आधारमा काम गरेको र आगामी दिनमा पनि गर्ने बताए ।
रेग्मीले केही दिनमा औपचारिक कार्यक्रम गरेर आफ्ना प्रतिवद्धतासहित उम्मेदवारी घोषणा गर्ने बताएका छन्।
एनआरएनएको आगामी नेतृत्वका लागि आरके शर्मा,महेश श्रेष्ठ,बद्री केसी, रविना थापा र विनय अधिकारीले उम्मेदवारी दिने घोषणा गरेु। अन्य ४ उम्मेदवारले उम्मेदवारी सार्वजनिक गरिसकेका छन भने वर्तमान अध्यक्ष बद्री केसी भने आन्तरिक छलफलमा छन्।
हालसम्म उपाध्यक्षमा खगेन्द्र न्यौपाने, राज रेग्मी, रोविन्दप्रसाद श्रेष्ठ, नारायण आचार्य, केशव पौडेल, सुनील शाह, गणेश केसीलगायतले उम्मेदवारी सार्वजनिक गरेका छन । युवाउपाध्यक्षमा अब्दुल बासिद र रोशन थापाले उम्मेदवारी दिएका छन । यस्तै महासचिवमा गौरीराज जोशी, बुद्धिसागर सुवेदी, गंगाधर गौतम र पारसमणि पोखरेलले उम्मेदवारी घोषणा गरे भने उपमहासचिवमा प्रविण गुरुङ, सोम सापकोटा र प्रमोद सिटौलाले उम्मेदवारी दिएका छन्।
सचिवमा लोक दाहाल, मनोज गोर्खाली,टंक गैरे,स्वतन्त्र प्रताप शाह,ज्ञानेन्द्र रेग्मी, आरसी पोखरेल, कृष्णजीवी पन्त र महिला सचिवमा रोजिना प्रधान राईले उम्मेदवारी घोषणा गरेका छन्। कोषाध्यक्षमा ठाकुर प्रसाद ढुंगाना,सहकोषाध्यक्षमा अभिमन्यु बस्नेत,तिलक गैरेले उम्मेदवारी छ। अन्य पदहरुमा पनि उम्मेदवारी आउने क्रम जारी रहेको छ ।