काठमाडौं । सन्दीप लामिछाने विरुद्ध परेको बलात्कार मुद्दामा अदालतले पीडित किशोरी ‘गौशाला २६’को जन्मदर्ता सम्बन्धी थप कागजात झिकाउने आदेश दिएको छ ।
न्यायाधीश शकुन्तला कार्कीको एकल इजलासले पुरानो पालिकामा भएको जन्मदर्ता र बसाइँको कागजात भए झिकाउन आदेश दिएको हो ।
बिहीबार सरकारी वकिल सुरवीर परियार र पीडितका पक्षबाट मोहना अन्सारीले बहस गरेका थिए। न्यायाधीश कार्कीले आजको समय सकिएपछि भोलि फेरि सुनुवाइ हुने बताईन्।
अन्तिम समयमा सन्दीपका वकिल सरोज घिमिरेले बसाइँ सरी गएको डकुमेन्टमा पीडितको यकिन जन्ममिति हुनसक्ने कागजात मगाउन माग गरेपछि न्यायाधीश कार्कीको इजलासले फेरि पीडितको जन्ममितिको कागजात मगाउने आदेश दिएको हो ।
राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका सन्दीपविरूद्ध भदौ २१ गते एक किशोरीले जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन् ।