काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका अधिकृतसहित तीन कर्मचारी सुन तस्करी प्रकरणमा पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अधिकृत पुष्पा जोशीसहित दुई नायब सुब्बा कमल परियार र वीरेन्द्र नेपालीलाई पक्राउ गरेको प्रहरी प्रवक्ता डिआइजी कुवेर कडायतले जानकारी दिए। पक्राउ परेका कर्मचारीमाथि अनुसन्धान अगाडि बढाएको केन्द्रीय अनुसन्धान ब्युरोले जानकारी दिएको छ ।
६० केजी सुन तस्करी प्रकरणमा यसअघि प्रकाउ परेका भन्सार एजेन्ट, कर्मचारी तथा तस्कर माथिको अनुसन्धानपछि भन्सारका तीन कर्मचारीको संलग्नता खुलेको हो । यसअघि विमानस्थल भन्सारकै दुई अधिकृत गणेश पौडेल र सन्तोष चन्दसहितका चार कर्मचारी पक्राउ परिसकेका छन् ।
प्रहरीले यसअघि पक्राउ परेका अधिकृत पौडेलको बयानका आधारमा अरु कर्मचारीको संलग्नता देखिएपछि थप तीन कर्मचारी पक्राउ परेका हुन् । सुन तस्करी पक्ररणमा आज पक्राउ परेका ३ सहित ३१ जना सीआईबीको नियन्त्रणमा छन् ।
सीआईबीले विमानस्थल भन्सारकै उपसचिव श्रीधर टण्डनमाथि पनि अनुसन्धान गरिरहेको जानकारी दिएको छ । गत साउन २ गते हङकङबाट ल्याइएको ६० किलो ७१६ ग्राम सुन राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो ।