काठमाडौँको तीनकुनेस्थित गैह्रीगाउँमा चार जनाको हत्या भएको अवस्थामा शव फेला परेको छ ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले धारिलो हतियार प्रहार भएको अवस्थामा चार जनाको शव फेला परेको जानकारी दिए । घटना राति १२ बजेतिरको भएको अनुमान गरिएको छ ।
मृत्यु हुनेमा दुई महिला र दुई पुरुष रहेका छन् । दिब्य सः मिलमा सुरक्षा गार्डको जिम्मेवारीमा रहेका दोलखाका कुमार भुजेल, सुरक्षा गार्ड कुमार पत्नी अम्बिका भुजेल, उनकी आमा करिब ७० वर्षीया सुभद्रा भुजेल र मोरङ घर भएका १९ वर्षीय नवीन राईको हत्या भएको हो ।
घटनाको अनुसन्धानका लागि तालिमप्राप्त प्रहरी र कुकुरको समेत परिचालन गरिएको छ । अहिले घटनास्थलमा उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोली परिचालन गरिएको छ ।
हत्या प्रकरणमा संलग्न भएको आशङ्कामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।पक्राउ पर्नेमा २८ वर्षीय दीपेन्द्र राई रहेको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी दीपक थापाले जानकारी दिए ।
राईलाई कपडा र जुत्तामा रगत लागेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । उनले मदिरा सेवन गरेको पाइएको छ ।