काठमाडौं । सरकारले कोरोना सङ्क्रमणविरुद्धको खोप आगामी असोजमसान्तसम्म एक करोड ८३ लाख ८२ हजार ८५० मात्रा ल्याउने भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा आगामी असोजमसान्तसम्म सरकारले चीन, जापान र भारतबाट कूल एक करोड ८३ लाख ८२ हजार ८५० खोप ल्याउने तयारी गरेको उल्लेख छ। उनका अनुसार चीनको साइनोफार्म कम्पनीबाट ६० हजार मात्रा खोप खरिदको सम्झौता अगाडि बढिसकेको छ।
त्यस्तै कोभ्याक्स सुविधामार्फत जापान सरकारले एस्ट्राजेनिका १६ लाख मात्रा र भारतबाट खरिद गरेको १० लाख मात्रा कोभिशिल्ड आउने छ। उनले कोभ्याक्समार्फत १२ वर्षमाथिका बालबालिकाका लागि एक करोड ५० लाख मात्रा खोप ल्याउने गृहकार्य पनि अगाडि बढेको जानकारी दिए। मन्त्रालयले कोभ्याक्सबाट नि:शुल्क २० प्रतिशत जनसङ्ख्याको लागि प्राप्त हुने एक करोड १३ लाख मात्रा खोप पनि क्रमश: प्राप्त हुँदै जाने र चैत मसान्तसम्म सबै नेपालीलाई खोप दिलाउने योजना रहेको छ।
सरकारले अहिलेसम्म ९७ लाख ८२ हजार ८५० खोप प्राप्त गरिसकेको जनाएको छ। तीमध्ये भारतबाट १० लाख मात्रा, नेपाली सेनालाई एक लाख अनुदानमा, कोभ्याक्सबाट तीन लाख ४८ हजार मात्रा, चीनबाट दुई पटक अनुदानमा १८ लाख मात्रा भेरोसेल खोप र चीनबाट खरिद गरेको ५८ लाख मात्रा भेरोसेल खोप, र अमेरिकाबाट अनुदानमा प्राप्त जोन्सन एण्ड जोन्सन खोप १५ लाख ३४ हजार ८५० मात्रा रहेका छन्।
मन्त्रालयले खोप आयात गर्न इच्छुक निजी क्षेत्रलाई पनि विश्व स्वास्थ्य सङ्गठन र नेपालको नियामक निकाय औषधि व्यवस्था विभागबाट आकस्मिक प्रयोग अनुमति प्राप्त कुनै पनि खोपको उत्पादन मूल्य र आयात खर्चमा अधिकतम १० प्रतिशत मुनाफा लिएर खरिद गर्न दिइएको उनले जानकारी दिए।