काठमाडौं। आन्दोलनरत शिक्षकहरु र सरकारबीचको दोस्रो वार्ता पनि निष्कर्षविहीन बनेको छ ।
बिहीबार साँझ सिंहदरबारस्थित गृहमन्त्रालयमा बसेको बैठकमा कुनै सहमति नजुटेको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कानूमन्त्री धनराज गुरुङले भोलि टुंग्याइने बताए ।
उनले समस्या टुंगिएपछि विद्यालय खोल्ने बताए ।
नेपाल शिक्षक महासंघले भने यो वार्ता नभएर अनौपचारिक छलफल भएको बताए । नेपाल राष्ट्रिय राष्ट्रिय शिक्षक संघका अध्यक्ष विष्णुप्रसाद भण्डारीले अनिश्चितकालीन आन्दोलन जारी रहने बताए । उनले सहमति नभइ आन्दोलन नछोड्ने बताए । वार्ता कमिटी गठन गरेर मात्रै सहमति हुने उनले बताए । ‘अहिले छलफल मात्रै भयो । वार्ता कमिटी गठन भएर जबसम्म बैठक हुँदैन तबसम्म हामी छलफल र हस्ताक्षर गर्दैनौ भनेका छौं । भोलि विहान ९ बजे पुनः बैठक बस्नेछौं’, उनले भने।
गत हप्ता सरकारले संसदमा दर्ता गरेको विधेयकप्रति शिक्षकहरु असन्तुष्ट रहँदै आएका छ्न। शिक्षकको सरुवा, बढुवा र कारबाहीको व्यवस्था स्थानीय तहलाई दिन नहुने, शिक्षकलाई ट्रेड युनियन अधिकार दिनुपर्नेजस्ता राजनीतिक र सेवा सुविधासँग सम्बन्धित गरी १७ बुँदे माग राखेर शिक्षक महासंघले बुधबारदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेको छ। आन्दोलन पक्ष र सरकारबीच आज बिहान पनि वार्ता भएको थियो।