काठमाडौं । वीर अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीले अस्पतालका प्रशासकीय अधिकृत डा. जागेश्वर गौतमविरुद्ध प्रदर्शन गरेका छन् । प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा झडप भएको छ ।
प्रदर्शनमा उत्रिएका स्वास्थ्यकर्मी र कर्मचारीलाई प्रहरीले लाठीचार्ज गर्दा ४ जना घाइते भएको जनाइएको छ ।
सरकारले कोभिड १९ नियन्त्रणसम्बन्धी अध्यादेश ल्याई वीर अस्पताललाई कोभिड युनिफाइड अस्पताल बनाउने घोषणा गरी डा. गौतमलाई प्रमुख नियुक्त गरेको थियो ।
तर त्यसपछि अस्पतालको सेवामा कुनै सुधार नभएको बरु आर्थिक अनियमितता भएको भन्दै स्वास्थ्यकर्मी र कर्मचारी प्रदर्शनमा उत्रिएका हुन् । उनीहरुले आठ महिनादेखि कोभिड-१९ जोखिम भत्ता लगायतका विभिन्न भत्ता नपाएको पनि बताएका छन् ।