काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेको माधव नेपाल समूह तत्काल गठबन्धनको सरकारमा सहभागी हुने सम्भावना नरहेको बताएका छन् ।
आइतबार कोटेश्वरस्थित पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकमा सदस्यहरूलाई ब्रिफिङ गर्दै अध्यक्ष प्रचण्डले एमालेको माधव समूह संस्थागत रूपमा सरकारमा सहभागी हुने सम्भावना नरहेको बताएका हुन् ।
आइतबारको बैठकअघि अध्यक्ष प्रचण्डले नेता नेपालसँग सरकारमा सहभागी हुने नहुनेबारे नेता नेपाललाई भेटेर छलफल गरेका थिए । अध्यक्ष प्रचण्डले बैठकमा आफूले माधव नेपाललाई सरकारमा सहभागी हुन गरेको आग्रहका सन्दर्भमा नेता नेपालले पनि संस्थागत रूपमा सहभागी हुन नसक्ने जवाफ दिएको बताएका थिए ।
बैठकपछि माओवादी नेता नारायणकाजी श्रेष्ठले गठबन्धन र सरकारले गरिरहेका कामहरूबारे अध्यक्ष प्रचण्डले ब्रिफिङ गरेको जानकारी दिए । बैठकले महाकाली नदीमा तुइनबाट खसेर बेपत्ता भएकोप्रति बैठकमा गम्भीर ध्यानाकर्षण भएको भन्दै घटनाबारे सरकारलाई छानबिन गर्न र दोषीलाई कारबाहीका लागि भारतसँग पहल गर्न माग गरेको छ ।