युक्रेनका संसदले राज्यको सम्पूर्ण खर्चको आधा हिस्सा रक्षामा खर्च हुनेगरी सन् २०२४ को सरकारी बजेटलाई अनुमोदन गरेको छ। बिहीबार बजेट बिनियोजन विषयमा मतदान भएको थियो।
कीएभ र मस्को दुवैले युद्ध शुरु भएदेखि नै सैन्य खर्चमा व्यापक वृद्धि गरेका छन्। उनीहरू दुवैले हतियार र गोलाबारुदको उत्पादन बढाएका छन् किनकि उनीहरूले लामो द्वन्द्वको तयारी गरिरहेका छन्।
युक्रेनको अर्थ मन्त्रालयका अनुसार करिब १.७ ट्रिलियन रिभनिया (करिब ४७ अर्ब अमेरिकी डलर) रक्षामा खर्च हुनेछ, जुन सन् २०२३ को बराबर हो।
यो आँकडा शिक्षा, सामाजिक कल्याण र स्वास्थ्य सेवामा संयुक्त रूपमा गरिएको खर्चभन्दा बढी हो र यो देशको योजनाबद्ध खर्चको कुल ९३ अर्ब डलरको लगभग आधा हो।
युक्रेनले अन्तर्राष्ट्रिय मुद्रा कोष र संयुक्त राज्य अमेरिकाजस्ता पश्चिमी सहयोगीहरूको आर्थिक सहयोगमा युद्धको समयमा आफ्नो अर्थव्यवस्थालाई जीवित राख्नको लागी धेरै निर्भर बनेको छ।