काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले दमनको बाटो लिएको दाबी गर्दै प्रतिवाद गर्ने चेतावनी दिएका छन् । अध्यक्ष ओलीले जिल्ला जिल्लाबाट आएका स्काउटका कार्यकर्ताहरुलाई रोक्ने, खाना समेत नदिने, सभा सम्मेलन गर्न नदिएर सरकारले दमनको बाटो लिएको भन्दै प्रतिवाद गर्ने चेतावनी दिएका हुन् ।
तुलसीलाल स्मृति प्रतिष्ठानले आइतबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सरकारलाई दमन नगर्न खबरदारीसमेत गरे । उनले ठूलो त्याग, बलिदान र संघर्षबाट जनताको अनुकूल लोकतान्त्रिक शासन व्यवस्था आएको उल्लेख गर्दै त्यस परिस्थितिलाई तलमाथि हुन आफ्नो पार्टीले नदिने दाबी पनि गरे।
अध्यक्ष ओलीले मुलुकको विकास र समृद्धिका लागि कम्युनिष्ट नेतृत्वको सरकार नै चाहिन्छ भन्ने कुरालाई आफू नेतृत्वको सरकारले पुष्टि गरेर देखाएको बताए । उनले माधव नेपाललगायतका नेताहरुले आफ्नै पार्टी नेतृत्वको सरकारलाई ढालेर निर्लज्ज, धोकेबाज र बेइमान काम गरेको आरोप पनि लगाए ।