आइतवार, कार्तिक ९ गते २०८३

खोप प्रमाणीकरण पत्र अब जिल्ला र प्रदेशबाटै लिन सकिने, क्यूआर कोड भदौदेखि

आइतवार , श्रावण १७, २०७८

काठमाडौँ । वैदेशिक रोजगारीमा जान चाहनेले खोप लगाएको प्रमाणीकरण जिल्ला र प्रदेश स्तरबाटै गर्न मिल्ने भएको छ । मन्त्रालयको सचिवस्तरीय निर्णयबाट खोप लगाएको प्रमाणीकरण गर्न चार अस्पताल मात्रै जानुपर्ने बाध्यताबाट मुक्त गर्न ५० बेड क्षमताभन्दा माथिका जुनसुकै सरकारी अस्पतालमा गर्न सकिने व्यवस्था गरेको हो । 
यस्तो व्यवस्था भएपछि अब खोप लगाएको प्रमाणीकरण गर्न काठमाडौंमा घण्टौं लाइन बसिरहनु पर्ने बाध्यता हटेको छ । सरकारले खोप लगाएको प्रमाणीकरण काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, निजामती कर्मचारी अस्पताल मिनभवन, पाटन अस्पताल र बलम्बुको सशस्त्र प्रहरी अस्पतालमा मात्रै गर्ने व्यवस्था गरेको थियो ।

जसका कारण घण्टौँ लाइन बस्नुपर्ने बाध्यताका साथै समयमै काम नहुँदा वैदेशिक रोजगारीमा जानेहरुले सास्ती भोग्दै आएका थिए । सरकारले खोप लगाउने बित्तकै क्यूआर कोड बिनाको कार्ड दिने गरेको छ । जुन कार्डलाई अन्य मुलुकले मान्यता नदिएपछि प्रमाणीकरण गर्ने गरिएको छ ।

केही देशले प्रमाणीकरण पत्रलाई मात्रै अझै मान्यता दिएको छैन । कुवेतले खोप लगाएको प्रमाण क्यूआर कोर्डबाट नै थाहा हुने प्रणाली नभएको मुलुकका नागरिकलाई आफ्नो मुलुकमा प्रवेश दिएको छैन । काठमाडौंको भद्रकालीमा केही युवाले क्यूआर कोडसहितको कार्ड माग गर्दै प्रदर्शन समेत गरेका छन् ।

स्वास्थ्य मन्त्रालयले क्यूआर कोडसहितको प्रमाणपत्र भदौ १ देखि जारी गर्ने भएको छ । भदौ १ गतेदेखि खोप लगाउने बित्तिकै डाटा इन्ट्री गरेर क्यूआर कोडसहितको प्रमाण पत्र जारी गर्न प्राविधिक काम भइरहेको मन्त्रालयले जनाएको छ ।  

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार