चीन र अमेरिकाका राष्ट्रपति सी जिनपिङ र जो बाइडेनबीच भेटवार्ता भएको छ।
दुई शक्ति राष्ट्रका राष्ट्रप्रमुखहरुको भेटवार्तापछि अमेरिकी राष्ट्रपति जो बाइडेनले रचनात्मक र फलदायी छलफल भएको बताएका छन्।
‘हामीले हाम्रा देशहरू बीचको कूटनीतिको विगत धेरै महिनाहरूमा राखिएको आधारभूत विषयहरुमा रचनात्मक छलफल गर्यौं र महत्त्वपूर्ण प्रगति गर्यौं’ उनले भनेका छन्। भेटमा सीले अमेरिका–चीन सम्बन्धमा ताइवान ठूलो मुद्दा भएको बताको बीबीसीले जनाएको छ।
चीनले ताइवानमा ठूलो आक्रमणको तयारी नगरेको सीको संकेत रहेको र शक्ति प्रयोग गर्न सकिने अवस्था बारे कुरा गरेको अमेरिकी अधिकारीले बताएका छन्। सीले चीनको प्राथमिकता स्वशासित टापु ताइवानसँग शान्तिपूर्ण पुनर्मिलन भएको बताएका छन्।
अमेरिकालाई ताइवानलाई हतियार दिन बन्द गर्न र ताइवान स्वतन्त्रता लाई समर्थन नगर्ने आफ्नो प्रतिबद्धतालाई सम्मान गर्न वास्तविक कदम चाल्न आग्रह गरेको चिनिया विदेशमन्त्रालयले जनाएको छ।
दुई नेताले आर्टिफिसियल इन्टेलिजेन्स र लागुऔषध विरुद्धको सहकार्यमा संवाद र कार्यदल गठन गर्न सहमति जनाएका छन्। त्यसैगरी दुई शक्ति राष्ट्रका सेनाहरू बीचको सञ्चार पुनर्स्थापना समानता र सम्मानको आधारमा गरिने सहमति भएको पनि छ।
उनीहरूले आफ्ना दुई देशबीच उडान र अन्तर्राष्ट्रिय विद्यार्थी आदानप्रदान बढाउनका साथै शिक्षा, युवा, संस्कृति, खेलकुद र व्यापारमा आदानप्रदान विस्तार गर्न सहमत भएका छन्।
यस्तै चीन र अमेरिकाले संयुक्त रूपमा ग्लोबल वार्मिङसँग लड्न र ऊर्जा संक्रमण, मिथेन, चक्रीय अर्थतन्त्र र स्रोत दक्षता, कम कार्बन विकास र वन फँडानी जस्ता क्षेत्रमा केन्द्रित कार्य समूह सञ्चालन गर्न सहमत भएका छन्।